काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा भोली बिहान नर्वे र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । मियामीमा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ ।
दुवै टोली उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहेकाले यो खेल प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ ।
क्वार्टरफाइनलअघि गरिएको २५ हजार सिमुलेसनमा फ्रान्स, स्पेन र अर्जेन्टिनाको सेमिफाइनल पुग्ने सम्भावना इङ्ग्ल्यान्डभन्दा बढी देखिएको थियो । यद्यपि, ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वेले आफूलाई बलियो दाबेदारका रूपमा स्थापित गरिसकेको छ । समूह चरणमा फ्रान्ससँग मात्र पराजित भएको नर्वेले त्यस खेलमा मुख्य खेलाडीलाई विश्राम दिएको थियो, जसको फाइदा पछिल्ला कठिन खेलहरूमा उठाएको देखिएको छ ।
नर्वेका खेलहरू निकै आक्रामक बनेका छन् । पाँच खेलमा १२ गोल गरेको टोलीले ९ गोल पनि खाएको छ । विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने क्रममा १० भन्दा बढी गोल गर्ने र त्यति नै गोल खाने टोलीको उदाहरण सन् १९५४ को जर्मनी मात्र हो । त्यसैले नर्वेको आक्रमण प्रभावशाली भए पनि रक्षापंक्ति चुनौतीपूर्ण देखिएको छ ।
यता, इङ्ग्ल्यान्डले अन्तिम १६ मा मेक्सिकोलाई हराउँदै आत्मविश्वास बढाएको छ । विश्वकपमा ११ पटक क्वार्टरफाइनल पुगेको इङ्ग्ल्यान्ड ब्राजिल र जर्मनीपछि सबैभन्दा धेरै पटक अन्तिम आठमा पुग्ने टोली हो । तर यस चरणमा उसको इतिहास भने उत्साहजनक छैन । अघिल्ला १० क्वार्टरफाइनलमध्ये तीन खेल मात्र जितेको इङ्ग्ल्यान्डले सात खेलमा दुई वा सोभन्दा बढी गोल खाएको थियो ।
यस खेलको सबैभन्दा ठूलो आकर्षण नर्वेका स्टार फरवार्ड इर्लिङ हालान्ड हुनेछन् । उनले विश्वकपका पहिलो चार खेलमै लगातार गोल गर्दै सात गोल गरेका छन् । तीमध्ये चार गोल निर्णायक सावित भएका छन् । हालान्डले नर्वेका लागि ५४ खेलमा ६२ गोल गरिसकेका छन् भने प्रतिस्पर्धात्मक खेलमा लगातार १४ खेलमा गोल गर्दै २७ गोलको कीर्तिमान बनाएका छन् ।
इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्ड हालान्डको क्षमतासँग राम्रोसँग परिचित छन् । प्रिमियर लिगमा हालान्डले पिकफोर्डविरुद्ध प्रहार गरेका १० लक्ष्यभित्रका प्रहारमध्ये सात गोलमा परिणत भएका छन् । त्यसैले हालान्डलाई रोक्नु इङ्ग्ल्यान्डको मुख्य चुनौती हुनेछ ।
यद्यपि, इङ्ग्ल्यान्डसँग पनि विश्वस्तरका आक्रमणकारी छन् । ह्यारी केनले यस विश्वकपमा ६ गोल गर्दै गोलकर्ताको दौडमा हालान्डलाई पछ्याइरहेका छन् । प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको नकआउट चरणमा उनले १२ खेलमा ११ गोल गरेका छन् । मिडफिल्डर जुड बेलिङ्घमले पनि चार गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्, जुन विश्वकपको एउटै संस्करणमा कुनै पनि इङ्ग्लिस मिडफिल्डरले गरेको सबैभन्दा धेरै गोल हो ।
यी दुई टोलीबीच यसअघि १२ पटक भेट भएको छ । नर्वेले दुई खेल मात्र जितेको छ भने पछिल्ला चार भेटमा गोल गर्नसमेत सकेको छैन । सन् २०१४ मा भएको पछिल्लो मैत्रीपूर्ण खेलमा इङ्ग्ल्यान्ड १-० ले विजयी भएको थियो ।
युरोपेली टोलीविरुद्ध विश्वकपमा नर्वेको कीर्तिमान पनि राम्रो छैन । उसले युरोपेली राष्ट्रविरुद्ध खेलेका छवटै विश्वकप खेल जित्न सकेको छैन । अर्कोतर्फ, इङ्ग्ल्यान्ड पनि पछिल्ला छ विश्वकप नकआउट खेलमध्ये पाँचमा युरोपेली टोलीसँग पराजित भएको इतिहास बोकेको छ । त्यसैले मियामीमा हुने यो भिडन्तमा इतिहास बदल्ने अवसर दुवै टोलीका लागि समान रूपमा महत्त्वपूर्ण रहनेछ ।






































