काठमाडौँ । आत्मदाह गरेका यातायात मजदुर गणेश नेपालीको मृत्युको घटनालाई लिएर अखिल नेपाल यातायात मजदुर संघले गम्भीर आपत्ति प्रकट गरेको छ । संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ उपत्यकामा यात्रु चढाउने–ओराल्ने स्थान, पर्याप्त पार्किङ, सार्वजनिक शौचालय र मजदुरका लागि विश्रामस्थल जस्ता न्यूनतम भौतिक पूर्वाधारको अभाव छ । राज्यले आफ्नो दायित्व पुरा नगरी केवल यातायात मजदुर र सवारी साधनमाथि दण्डात्मक कारबाही र चर्को जरिवानालाई प्राथमिकता दिँदा श्रमिकहरू मानसिक तनाव र निराशामा पुगेका छन् ।’
महानगर प्रहरीले राइड सेयरिङ गर्ने चालकको मोटरसाइकलमा ह्विल लक लगाएपछि सिर्जना भएको विवाद र त्यसपछिको आत्मदाहको प्रयासमा उद्धार र उपचारमा समेत गम्भीर कमजोरी भएको संघले आरोप लगाएको छ ।
साथै, संघले आफ्ना मागहरूप्रति राज्य उदासीन रहेमा संविधान प्रदत्त मानव अधिकार र श्रमिकको हित संरक्षणका लागि चरणबद्ध, सशक्त र शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
यस्ता छन् सङ्घका ७ बुँदे मागहरू :
१. घटनाको सत्य तथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन समिति गठन गरियोस् ।
२. दोषी व्यक्ति वा निकायमाथि कानुन बमोजिम कडा कारबाही गरियोस् ।
३. मृतक गणेश नेपालीको परिवारलाई उचित क्षतिपूर्ति, राहत र दीर्घकालीन जीविकोपार्जनको व्यवस्था गरियोस् ।
४. उपत्यकामा यातायात श्रमिक र यात्रुमैत्री पूर्वाधारको तत्काल व्यवस्था गरियोस् ।
५. जरिवाना र दण्डमुखी नीतिको सट्टा सेवामुखी ट्राफिक व्यवस्थापन प्रणाली लागू गरियोस् ।
६. यातायात नीति निर्माणमा सरोकारवाला पक्षहरूको अनिवार्य सहभागिता सुनिश्चित गरियोस् ।
७. सडकमा राज्य पक्षबाट भइरहेको ’आतङ्क’ बन्द गरियोस् ।








































