काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भक्तपुर जिल्ला शाखालाई विगत लामो समयदेखिको बक्यौता रकम बुझाउन निर्देशन दिएको छ ।
केन्द्रले एक पत्र काट्दै भक्तपुर शाखाका नाममा देखिएको ४५ लाख ७१ हजार ८२० रूपैयाँ २१ पैसा २१ दिनभित्र केन्द्रीय कार्यालयको खातामा जम्मा गर्न निर्देशन दिएको हो ।
केन्द्रीय महामन्त्री ऋषिरमण खनालद्वारा हस्ताक्षरित पत्रमा सन् २०१५ देखि हालसम्मको बक्यौता रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख छ ।
विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन र समाज कल्याण परिषद्को निर्णयका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्राप्त निर्देशनका आधारमा यो ताकेता गरिएको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘विगतदेखि हालसम्म बुझाउन बाँकी रहेको उक्त रकम यो पत्र प्राप्त भएको मितिले २१ दिनभित्र अनिवार्य रूपमा केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी सोको भौचर वा प्रमाणसहित जानकारी गराउन निर्देशन गरिन्छ ।’
निर्धारित समयसीमामा बक्यौता रकम जम्मा नगरे कारबाही प्रक्रिया अघि बढाउने रेडक्रसले जनाएको छ ।
नेपाल रेडक्रसको नवगठित केन्द्रीय तदर्थ समितिले पछिल्लो समय आर्थिक पारदर्शिता र सुशासनसहित संस्थागत सुधारको विषयलाई प्राथमिकतासाथ अघि बढाइरहेको भन्दै रेडक्रसकर्मीले तारिफ गरिरहेका छन् ।






































