धनगढी । कैलालीमा प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ परेका छन् ।
आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका लागुऔषध मुद्दाका थुनुवा टीकापुर-१ का ३१ वर्षीय संजय नगार्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले नगार्जीलाई टीकापुर नगरपालिका-४ को अन्नेरीबाट पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)प्रकाश डांगीको नेतृत्वको टोलीले नगार्जीलाई नियन्त्रणमा लिएको हो ।
उनी पहिचान नखुल्ने गरी हेलमेट र मास्कले अनुहार छोपेर मोटरसाइकल चलाइरहेका बेला समातिएका हुन् ।
नगार्जी आइतबार राति पानी पिउने बहाना बनाएर डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई लडाएर भागेका थिए ।
घटनापछि प्रहरीले भण्डारीलाई निलम्बन गरेर छानबिन गरिरहेको छ । डीएसपी तिमिल्सिनाको नेतृत्वमा समिति गठन गरेको छ ।






































