वि.सं.२०८३ असार २५ बिहीवार

दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल

khanepani

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपालको इतिहासमै पहिलो पटक दलाई लामा सम्बन्धी गतिविधि गर्न बालेन शाह सरकारले अनुमति दिएर निर्लज्जता प्रकट गरेको बताएका छन् ।

नेता खनालले प्रेस नोट जारी गर्दै नेपालको स्थापित एक चीन नीतिका विरुद्ध चीनबाट सन् १९५९ मै भागेर विदेशमा शरण लिएर बसेका पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन बालेन्द्र सरकारले अनुमति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘स्वयम्भु स्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा उक्त आयोजना गर्न दिएर नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भए देखिको सुमधुर सम्बन्धलाई खलबल्याउने राष्ट्रहित विरोधी काम गरेको छ’, पूर्व प्रधानमन्त्री खनालले भनेका छन् ।

साथै उनले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतको समेत उपस्थिति हुनु अत्यन्त गम्भीर र आपत्तिजनक भनेका छन् ।

‘पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी अखडा बनाउन र नेपाललाई युक्रेन बनाउन भित्री षडयन्त्रमा लागिरहेका छन् भन्ने कुरामा हामी अनविज्ञ छैनौँ’, खनालले भनेका छन्, ‘नेपाली भूमिमा आएर हाम्रो भूमि छिमेकीहरुकाविरुद्व कसैलाई पनि प्रयोग गर्ने अधिकार छैन । बालेन सरकारको यो राष्ट्रहित विरोधी र साम्राज्यवाद परस्त नीतिलाई सम्पुर्ण नेपाली जनता कडा शब्दमा विरोध गर्दछन् ।’ आम नेपाली जनता एक चीन नीतिका पक्षमा दृढता पूर्वक उभिदैं आएको भन्दै खनालले जनवादी गणतन्त्र चीन र गणतान्त्रिक भारत दुवै छिमेकीसँग सुमधुर र रचनात्मक सम्बन्ध विकास गर्न चाहिरहेको बताएका छन् ।

देशलाई विश्व बैंक र एडिविको खर्बौंको ऋण भार बोकाउनु पश्चिमाहरूको हित अनुसार त होला तर नेपाल र नेपालीको हितमा हुन्न भन्ने कुरा बालेन सरकारलाई समयमै बुझ्न चेतावनी दिँदै खनालले नेपाली जनता मातृभूमिलाई द्वन्द्वको अखडा बनाएको देख्न नचाहने पनि बताएका छन् ।

‘आफैँले निर्वाचित गरेका सरकारहरूलाई जनताको हितविरुद्ध जाँदा नेपाली जनताले उखेलेर हटाएको कुरालाई बालेन्द्र सरकारले संस्मरण गर्नु राम्रो हुन्छ’, खनालले भनेका छन्, ‘नेपाली जनता चाहन्छन् छिमेकी चीनसँगका सम्बन्धहरू अझ प्रगाढ बनाओस् र चीनसँगको सहयोगलाई अझ गहिरो बनाओस् ! यो नै नेपाल र नेपाली जनताको तत्कालीन र दीर्घकालीन हितमा हुनेछ ।’

ranechhap