काठमाडौँ । निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि व्यवस्थापनमा अनियमितता गरी २ करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी औषधि आपूर्ति नै नभई बिल तथा सफ्टवेयरमा अभिलेख राख्ने, म्याद सकिएका औषधि फिर्ता नगर्ने, स्टक अभिलेख र वास्तविक मौज्दात नमिलाउने तथा आपूर्तिकर्ताको धरौटीबाट कट्टा गर्नुपर्ने रकमसमेत फिर्ता गराई सार्वजनिक सम्पत्तिमा हानी पुर्याएको अनुसन्धानबाट खुलेको हो ।
अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी स्टोरमा ठूलो परिमाणमा म्याद सकिएका औषधि रहेको, तर अभिलेखमा ती औषधि मौज्दात देखाइएको तथा प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने औषधिको सन्तुलन परीक्षणसमेत नगरिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा फार्मेसी एकाइका इन्चार्ज दिनेश पन्त, दीपा ढुङ्गाना, लवेन्द्र कुँवर र दीपक सापकोटा, स्टोर किपर विनोद पोखरेल, केशवराज न्यौपाने र शर्मिला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दीप तिवारी रहेका छन् ।
अख्तियारले उनीहरूले आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा २ करोड ९१ लाख ३४ हजार ५४७ बराबरको हानीनोक्सानी पुर्याएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागसहित बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।






































