रुपन्देही । कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद सजाय भुक्तान गरी तीन वर्ष अघि कारागारबाट छुटेका एक युवक पुनः गम्भीर आपराधिक घटनामा पक्राउ परेका छन्।
बुटवलको कालिकानगरस्थित ‘द कन्सेप्ट’ अगाडि दुई युवामाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले बुटवल–११ बुद्धनगरका २९ वर्षीय सुमित गुरुङ उर्फ ‘आचे’लाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गुरुङ यसअघि कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद सजाय भुक्तान गरी २०८० साल असोजमा कारागारबाट रिहा भएका थिए।
इलाका प्रहरी कार्यालय बुटवलले बुधबार पत्रकार सम्मेलन गरी असार १७ गते बिहान करिब ३ बजे भएको उक्त घटनामा संलग्न गुरुङलाई असार २० गते दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीबाट पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीका अनुसार गुरुङले धारिलो हतियार (चक्कु) र हेल्मेट प्रहार गर्दा स्थानीय १८ वर्षीय गिरिजेश राना र २३ वर्षीय सुन्दर बगाले गम्भीर घाइते भएका थिए। दुवै जनाको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा केटी साथीको विषयमा सामान्य विवादबाट झगडा सुरु भएको खुलेको प्रहरीको भनाइ छ। गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको छ।
यसैबीच, रुपन्देही प्रहरीले छुट्टाछुट्टै दुई गम्भीर आपराधिक घटनामा संलग्न थप आठ जनालाई पनि पक्राउ गरेको छ।असार १६ गते तिलोत्तमा नगरपालिका–३ शान्तिचोकमा मोटरसाइकलमा आएका व्यक्तिले महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएको घटनामा तीन भारतीय नागरिक र चोरीको सुन खरिद गर्ने एक नेपाली व्यवसायी पक्राउ परेका छन्।
सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा घटनामा प्रयोग भएको लु ६५ प २९३१ नम्बरको मोटरसाइकल र दुई थान सुनको सिक्रीसहित भारत उत्तर प्रदेशका राहुल जयसवाल, प्रिन्स जयसवाल, बिहारका नितेश कुमार गुप्ता तथा सिद्धार्थनगर–५ का प्रदीप कान्दु बानियालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।
प्रहरीका अनुसार सुन खरिद गर्ने बानिया यस अघि पनि चोरीसम्बन्धी मुद्दामा ५० हजार रुपैयाँ जरिवाना तिरेका पुराना अभियुक्त हुन्। यस्तै, भारतबाट चोरीका मोटरसाइकल नेपाल ल्याई नक्कली ब्लुबुक र नेपाली नम्बर प्लेट बनाएर बिक्री गर्ने गिरोहसमेत प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा असार ७ गते गरिएको खानतलासीका क्रममा ६ वटा मोटरसाइकल, ३ वटा स्कुटर, २ वटा ल्यापटप र एउटा रङ्गीन प्रिन्टर बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न पाल्पाका अशोक सारु तथा बुटवलका सरोज उपाध्याय, महेन्द्र गुरुङ र विकास केसी पक्राउ परेका छन्।
प्रहरीका अनुसार महेन्द्र गुरुङ यसअघि लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् भने विकास केसी सार्वजनिक अपराध मुद्दामा सजाय पाइसकेका अभियुक्त हुन्।पक्राउ परेका सबै आरोपितमाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस अघि गुरुङले बाटोमा हिडिरहेको बेला अपरिचित ३५ वर्षको व्यक्तिलाई सामान्य विवादमा ढुंगाले हानेर मारेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी श्रीवास्तवले बताए । उनका अनुसार अत्यन्तै साइकोवाला गुरुङले बाहिर रहे अरु पनि घटना घटना गराउने आचरणको रहेको जनाए ।






































