एजेन्सी । टर्कीको राजधानी अंकारामा मंगलबारदेखि दुईदिने नेटो शिखर सम्मेलन सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन पुनः दबाब दिइरहेका बेला सम्मेलन सुरु भएको हो । त्यसको जवाफस्वरूप युरोपेली देशहरूले अर्बौं डलर बराबरका नयाँ सैन्य सम्झौताहरू घोषणा गर्ने अपेक्षा गरिएको छ ।
गत वर्षको नेटो शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले सन् २०३५ सम्म कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत रक्षा तथा सुरक्षा क्षेत्रमा खर्च गर्ने लक्ष्य तय गरेका थिए । त्यस अनुसार ३.५ प्रतिशत प्रत्यक्ष सैन्य खर्च र १.५ प्रतिशत सुरक्षा सम्बन्धी अन्य आवश्यकतामा खर्च गर्ने सहमति भएको थियो ।
को–को सहभागी छन् ?
यस साताको शिखर सम्मेलनमा नेटोका सबै ३२ सदस्य राष्ट्रका नेता सहभागी भएका छन् । त्यसका अतिरिक्त नेटो सदस्य नभएका दुई राष्ट्रप्रमुख पनि सम्मेलनमा उपस्थित छन् । ती हुन् युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ ।
अस्ट्रेलिया, जापान र न्युजिल्यान्डले आफ्ना रक्षा वा परराष्ट्र मन्त्री पठाएका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धबाट प्रभावित खाडी मुलुकहरू (बहराइन, कुवेत, कतार र संयुक्त अरब इमिरेट्स)का प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी छन् ।
सिरियाका राष्ट्रपति अहमद अल–शारा सम्मेलनमा सहभागी नहुने अपेक्षा गरिएको छ । तर उनले अंकारामै राष्ट्रपति ट्रम्पसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
ट्रम्प नेटोसँग के चाहन्छन् ?
ट्रम्पले पहिलो पटक राष्ट्रपति पदका लागि चुनाव लडेदेखि नै नेटोको उपयोगितामाथि प्रश्न उठाउँदै आएका छन् । उनको तर्क छ कि नेटोको सुरक्षा खर्चको असमान भार अमेरिकाले मात्र बोकिरहेको छ । त्यतिबेला सदस्य राष्ट्रमध्ये केवल पाँच देशले मात्रै जीडीपीको २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता पूरा गरेका थिए ।
साझा सुरक्षाको जिम्मेवारीबारे ट्रम्पले निरन्तर दबाब दिएपछि पछिल्ला वर्षहरूमा सदस्य राष्ट्रहरूले रक्षा बजेट उल्लेखनीय रूपमा बढाउने प्रतिबद्धता जनाएका छन् ।
जर्मन मार्शल फन्डका टर्की क्षेत्रीय निर्देशक ओजगुर उनलुहिसार्चिक्लीका अनुसार यस वर्षको सम्मेलनको मुख्य उद्देश्य गत वर्ष गरिएका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानु हो ।
उनले भने, ‘गत वर्ष हेगमा नेटो सदस्यहरूले रक्षा खर्च ५ प्रतिशत पु¥याउने निर्णय गरे र युरोपेली सहयोगीहरूले आफ्ना रक्षा उद्योग सुदृढ बनाउन कदम चाल्न थाले ।’
‘यस वर्ष अंकारामा मुख्य छलफल खर्चलाई कसरी वास्तविक सैन्य क्षमतामा रूपान्तरण गर्ने भन्ने विषयमा हुनेछ । त्यसैले यो सम्मेलन गत वर्षको भन्दा अझ महत्वपूर्ण छ ।’
तर ग्लोबल पोलिसी इन्स्टिच्युटका अध्यक्ष पाओलो भोन शिराख भने रक्षा खर्च बढाउँदैमा तत्काल सैन्य शक्ति वृद्धि नहुने बताउँछन् ।
उनका अनुसार, ‘धेरै खर्च गर्नुको अर्थ तुरुन्तै धेरै क्षमता प्राप्त गर्नु होइन । ठुलो लगानी गरे पनि तत्काल अपेक्षित परिणाम नआउन सक्छ ।’
युक्रेनले यस सम्मेलनबाट के अपेक्षा राखेको छ ?
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार राष्ट्रपति ट्रम्पसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । युक्रेन नेटोको सदस्य राष्ट्र होइन । रुसले युक्रेनी सहरहरूमा आक्रमण तीव्र बनाइरहेका कारण जेलेन्स्कीले ट्रम्पसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गर्नेछन् ।
सोमबार बिहान किभमा भएको रुसी ड्रोन आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयुएसआई)का वरिष्ठ अनुसन्धानकर्ता ज्याक वाटलिङका अनुसार युक्रेनले नेटो सदस्य राष्ट्रहरूबाट दीर्घकालीन राजनीतिक तथा सैन्य–प्राविधिक सहयोगको स्पष्ट प्रतिबद्धता चाहेको छ ।
उनले भने, ‘युक्रेनको उद्देश्य रुसलाई आगामी १२ देखि २४ महिनासम्म आफ्नो प्रतिरक्षा क्षमता कमजोर नहुने स्पष्ट सन्देश दिनु हो ।’
वाटलिङका अनुसार युक्रेनलाई उपलब्ध गराइने अवरोधक (इन्टरसेप्टर) मिसाइलहरूको संख्या र रुसले ब्यालिस्टिक मिसाइलमार्फत पु¥याउन सक्ने क्षतिको मात्रा प्रत्यक्ष रूपमा सम्बन्धित छन् ।
युरोपेली राष्ट्रहरूको खास चिन्ता के मा हो ?
यस शिखर सम्मेलनमा युरोपेली राष्ट्रहरूले घोषणा गर्ने अर्बौं डलरका सैन्य सम्झौताहरूलाई कतिपय विश्लेषकहरूले ट्रम्प प्रशासनलाई सन्तुष्ट पार्ने प्रयासका रूपमा हेरेका छन् । युरोपेली राष्ट्रहरूले इरानविरुद्धको युद्धमा सहभागिता नजनाएपछि ट्रम्पले आफूलाई उनीहरूको पैसा नभई ‘निष्ठा’ चाहिएको बताएका थिए ।
उनले सम्मेलन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले आयोजना नगरेको भए आफू सहभागी नहुन पनि सक्ने संकेत दिएका थिए । हालका वर्षहरूमा टर्कीले रक्षा खर्च मात्र बढाएको छैन, नेटोभित्रकै सबैभन्दा ठुलो सैन्य सामग्री निर्यातकर्ता राष्ट्रहरूमध्ये एकका रूपमा पनि आफूलाई स्थापित गरेको छ ।
रक्षा खर्चबारे विवाद अझै जारी छ । सम्मेलनको पूर्वसन्ध्यामा ट्रम्पले जर्मनीको रक्षा बजेटलाई ‘हास्यास्पद’ भनेका थिए । त्यसको जवाफमा जर्मन चान्सलर फ्रिडरिख मर्जले आफ्नो सरकारले देशको रक्षा क्षमता सुदृढ बनाउन इतिहासकै सबैभन्दा ठुलो लगानी गरेको बताएका छन् ।
यसैबीच अमेरिकाले केवल बयानबाजीमै सीमित नरही नेटो सदस्य राष्ट्रहरूबाट आफ्ना लडाकु विमान, युद्धपोत र पनडुब्बीहरू चरणबद्ध रूपमा फिर्ता लैजाने योजना पनि घोषणा गरेको छ ।
ज्याक वाटलिङका अनुसार, ‘युरोपमा अमेरिकी स्थलसेनाको संख्या घट्दा त्यसले मुख्यतः राजनीतिक सन्देश दिन्छ । तर अमेरिकी हवाई शक्ति फिर्ता हुँदा यसको वास्तविक सैन्य प्रभाव पर्छ ।’
विश्लेषकहरूका अनुसार अहिले सबैभन्दा ठुलो प्रश्न भनेको मतभेद र अमेरिकी सैन्य फिर्तीका बीच पनि नेटोले आफ्नो एकता कायम राख्न सक्छ कि सक्दैन भन्ने हो । ग्लोबल पोलिसी इन्स्टिच्युटका अध्यक्ष पाओलो भोन सिराख भन्छन्, ‘यस सम्मेलनको सबैभन्दा ठुलो महत्व राजनीतिक छ । यसले सहयोगी राष्ट्रहरू अझै पनि छलफल गरिरहेका छन्, भेटिरहेका छन् र एकताको सन्देश दिन खोजिरहेका छन् भन्ने देखाउँछ, यद्यपि उनीहरूबीचका मतभेद र शंकाहरू पूर्ण रूपमा हटेका छैनन् ।’
उनका अनुसार अंकारा सम्मेलनको उद्देश्य तत्काल सैन्य रणनीति तथा कार्वाही बदल्नुभन्दा पनि सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्नु र एकताको सन्देश दिनु हो ।





































