काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले सरकारका पछिल्ला नियुक्तिमाथि प्रश्न उठाउँदै पात्र मात्रै फेरिएर नेतृत्वशैली नफेरिने परिवर्तन स्वीकार्य नहुने बताएकी छन् ।
फेसबुकमा आइतबार धारणा सार्वजनिक गर्दै बमले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सिफारिस तथा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति भए पनि तीमध्ये एक जना पनि महिला नरहेको उल्लेख गरेकी छन् । उनले सीमान्तकृत समुदायको प्रतिनिधित्वसमेत नदेखिएको टिप्पणी गरेकी छन्।
सरकारले संसदबाटै दलित समुदायसँग माफी मागेको स्मरण गराउँदै बमले त्यसपछि पनि दलित तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराउन किन आवश्यक ठानिएन भन्ने प्रश्न गरेकी छन्।
बमले सरकारले ‘हरियो’ रङमाथि ‘नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो भने त्यो बेग्लै विषय भएको उल्लेख गर्दै पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन आफूहरूले नखोजेको बताएकी छन्।






































