वि.सं.२०८३ असार २० शनिवार

इरानमा खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिदै

khanepani

काठमाडौँ । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न तेहरानस्थित ग्रान्ड मोसल्ला परिसरमा लाखौँ मानिस भेला भएका छन् । शिया परम्पराअनुसार कालो पोसाक लगाएका श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले छाती पिट्दै शोक व्यक्त गरेका छन् । यस क्रममा ‘रगत बग्नेछ’, ‘अमेरिका मुर्दावाद’ र ‘बदला, बदला’ जस्ता नारासमेत घन्किएका छन् ।

खामेनीको अन्त्येष्टिसम्बन्धी कार्यक्रम जुलाई ३ देखि सुरु भएको हो, जुन जुलाई ९ सम्म सञ्चालन हुनेछ । शुक्रबार सम्पन्न कार्यक्रममा एक सयभन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका थिए ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई खामेनीको अन्त्येष्टिका लागि एक साताको समय दिएको दाबी गरेका छन् । उनले मानवीय आधारमा यस्तो निर्णय गरिएको बताउँदै कार्यक्रम सकिएपछि इरानले अमेरिकाले अघि सारेका सर्तहरू स्वीकार गर्नुपर्ने टिप्पणी गरेका छन् ।

खामेनीको निधन हुँदा इरान र अमेरिकाबीच युद्ध चलिरहेको थियो । इरानका विभिन्न क्षेत्रमा निरन्तर बमबारी भइरहेका कारण शवयात्रामा लाखौँ मानिसको ज्यान जोखिममा पर्ने सम्भावना थियो । यही कारण सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अन्त्येष्टि कार्यक्रम चार महिनापछि आयोजना गरिएको बताइएको छ ।

जुलाई ३ देखि ९ सम्म सञ्चालन हुने कार्यक्रमलाई इरानले राष्ट्रिय एकता र शक्ति प्रदर्शनका रूपमा पनि अघि बढाएको छ । करिब दुई करोड मानिस सहभागी हुने अपेक्षा गरिएको छ भने एक सयभन्दा बढी देशका प्रतिनिधिको उपस्थिति रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्लेषकहरूले विशाल जनसहभागितामार्फत इरानले आफ्नो शासन व्यवस्था र इस्लामिक क्रान्ति अझै मजबुत रहेको सन्देश विश्वलाई दिन खोजेको बताएका छन् ।

शिया इस्लाममा मुहर्रम महिनालाई शोक र बलिदानको प्रतीक मानिन्छ । सातौँ शताब्दीमा इमाम हुसेनको शहादत यही महिनामा भएको विश्वास गरिन्छ । खामेनीको वंश पनि इमाम हुसेनसँग जोडिएको मानिने भएकाले यही महिनामा अन्त्येष्टि कार्यक्रम आयोजना गरिएको हो । खामेनीको पार्थिव शरीरलाई कम तापक्रमयुक्त शवगृहमा सुरक्षित राखिएको थियो । इस्लाम धर्ममा रासायनिक पदार्थ प्रयोग गरेर शव संरक्षण गर्न अनुमति नहुने भएकाले चिसो तापक्रममार्फत मात्र सुरक्षित राखिएको जनाइएको छ । युद्धजस्ता असाधारण अवस्थामा अन्त्येष्टिमा ढिलाइ गर्न र पार्थिव शरीर सुरक्षित राख्न शिया धार्मिक परम्पराले अनुमति दिने भएकाले त्यसका लागि धार्मिक स्वीकृति पनि लिइएको थियो ।

खामेनीको अन्तिम यात्रा पाँच महत्वपूर्ण शहर हुँदै अघि बढ्नेछ । तेहरानबाट अन्तिम दर्शन सुरु हुनेछ । यहाँ ग्रान्ड मोसल्लामा धार्मिक तथा सरकारी कार्यक्रमहरू आयोजना गरिन्छ र यही शहर इरानको राजनीतिक शक्ति केन्द्र पनि हो । त्यसपछि यात्रा कोम पुग्नेछ, जुन शिया धार्मिक शिक्षाको सबैभन्दा ठूलो केन्द्र मानिन्छ । यहाँ रहेको फातिमा मासूमाको दरगाह शिया समुदायको प्रमुख धार्मिकस्थलमध्ये एक हो । तेस्रो चरणमा यात्रा इराकको करबला पुग्नेछ । इमाम हुसेनको दरगाह रहेको यो शहर शिया मुस्लिमका लागि अत्यन्त पवित्र मानिन्छ र बलिदान तथा संघर्षको प्रतीकका रूपमा हेरिन्छ । त्यसपछि यात्रा नजफ पुग्नेछ, जहाँ इमाम अलीको दरगाह रहेको छ। नजफलाई शिया धर्मगुरु र धार्मिक अध्ययनको विश्वकै प्रमुख केन्द्र मानिन्छ । अन्तिम चरणमा यात्रा मशहद पुग्नेछ । इमाम रिजाको दरगाह रहेको यो शहर इरानकै सबैभन्दा पवित्र धार्मिक शहर मानिन्छ । खामेनीको जन्म पनि यही शहरमा भएकाले उनको अन्तिम संस्कार पनि यहीँ गरिनेछ ।

अन्त्येष्टि कार्यक्रममा सहभागी धेरै व्यक्तिका हातमा रातो झण्डा देखिएका छन् । शिया परम्परामा रातो झण्डालाई बदलाको प्रतीक मानिन्छ । तेहरान विश्वविद्यालयका अनुसन्धानकर्ता मोहम्मद इस्लामीका अनुसार यी झण्डाले खामेनीका समर्थकहरूबाट उनको हत्यामा संलग्नमाथि कारबाहीको माग र बदलाको सन्देश व्यक्त गरेका हुन् ।

अन्त्येष्टि कार्यक्रमका कारण इरानले अमेरिकासँग युद्ध अन्त्यका विषयमा भइरहेको अप्रत्यक्ष वार्ता हालका लागि स्थगित गरेको छ । साथै इरानी सेनाले अन्त्येष्टिका क्रममा कुनै पनि सैन्य कारबाही नगर्न अमेरिका र इजरायललाई चेतावनी दिएको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अन्त्येष्टिका लागि एक साताको समय दिएको दोहोर्याउँदै त्यसपछि सम्झौताका लागि इरान तयार हुने विश्वास व्यक्त गरेका छन् ।

ranechhap