काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षामा दलीयकरणले सबै भन्दा ठुलो समस्या लिएर आएको बताए।
उनले भने, ‘शिक्षामा राजनीति भयो भन्छौँ । शिक्षामा राजनीति भएन भन्छौँ, शिक्षामा दलीयकरण भयो । हामीलाई व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो । त्यसको शिक्षक पनि हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनुपर्यो । त्यो राजनीति होइन, त्यो दलीयकरण थियो । दलीयकरण बाहिर निस्कनु पर्यो ।’
उनले पार्टीमा आबद्ध भएका हजारौँको सङ्ख्यामा शिक्षकहरूले समुन्नत नेपाल ल्याउनका निम्ति आफ्नो ठाउँबाट काम गर्न सक्ने बताए ।
उनले थपे, ‘मैले आजको दिनमा कांग्रेस सभापति भएर शिक्षक सङ्घमा आबद्ध हुनु भएको शिक्षकलाई गर्ने आग्रह भनेको भूमिका ठीक ढङ्गले विद्यालयमा निर्वाह गर्दिनुस् । त्यो भन्दा ठूलाे नेपाली कांग्रेसलाई लगाउने गुण अरू केही पनि हुँदैन।’






































