वि.सं.२०८३ असार १९ शुक्रवार

पर्यटन बोर्डले ट्राभल तथा टुर व्यवसायीलाई दियो कर कानुनबारे तालिम

khanepani

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ ।

काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । तालिममा विभिन्‍न ट्राभल तथा टुर एजेन्सीका ५० जना व्यवसायीको सहभागिता रहेको छ ।

तालिममा पर्यटन क्षेत्रमा लागु हुने करहरु, कर तिर्दा ध्यान दिनुपर्ने विषय, कानुनले प्रदत्त गरेको व्यवस्था र पालना गर्नुपर्ने कानुनी एवम् अन्य व्यवहारिक पक्षका विषयमा एजेन्सीका प्रमुख एवम् प्रतिनिधिलाई तालिम दिइएको छ । विशेषत कर र भ्याटसम्बन्धी ऐन कानुनको ज्ञान अभावमा साना व्यवसायीले ठूलो जरिबाना र झन्झट बेहोर्नुपरेको भन्दै तालिममा ज्ञान प्रदान गरिएको छ ।

सोट्टो नेपालका अध्यक्ष मान बहादुर शाहीले व्यवसायीले करका विषयमा ब्यहोर्नुपरेको झन्झटलाई निवारण गर्न आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले एजेन्सीलाई तालिम दिइएको बताएका छन् ।

तालिमबारे प्रष्ट पार्दै उनले भने, ‘कर कानुनमा हरेक वर्ष परिवर्तन हुने भएतापनि करका आधारभुत सिद्धान्त स्थिर रहने भएकाले यससम्बन्धी ज्ञान व्यवसायको लागि उपयोगी हुनेछ । त्यस्तै आर्थिक अनुशासन र पारदर्शिता बढाउन तालिमले सहयोग गर्नेछ ।’ व्यवसाय गर्नेहरू करसम्बन्धी सैद्धान्तिक जानकारीको अभावमा ठूलो जरिबानामा नपरुन् भनेर नै तालिम दिइएको शाहीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डले कर भुक्तानी प्रक्रियाबारे हुने अज्ञानता वा लापरबाहीले कडा जरिबाना भोग्नुपर्ने अवस्था आउने उल्लेख गर्दै यसबाट सचेत रहनुपर्ने जनाएको छ । सोहीकारण सोट्टो नेपालसँगको सहकार्यमा व्यवसायीलाई तालिम प्रदान गरिएको बोर्डको भनाइ छ ।

विभिन्न फरक–फरक सेसनमा फरक–फरक विषयमा पर्यटन व्यवसायीलाई तालिम दिइएको छ । शुक्रबार तालिमको समापन गरिनेछ । बोर्डले सोट्टो नेपालसँगको सहकार्यमा नै आगामी महिना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धमा पनि एजेन्सी एवम् पर्यटन व्यवसायीलाई तालिम प्रदान गर्ने भएको छ ।

ranechhap