वि.सं.२०८३ असार १९ शुक्रवार

समान तलब वृद्धि र बढुवाको माग गर्दै, सम्राट सिमेन्टका कर्मचारी आन्दोलित, उद्योगमा तालाबन्दी

khanepani

रूपन्देही । दाङको लमही-७ स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा-सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन् ।

विभिन्न मागसहित व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग गरिएको छ । लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्याङ्कन गरी बढुवा गर्नुपर्ने, यसअघि उपलब्ध गराइँदै आएको सेवा-सुविधा कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग छ ।

ज्ञापनपत्रमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलब-भत्ताको ६० प्रतिशतलाई आधार मानेर जम्मा गर्नुपर्ने, भोजन तथा आवाससम्बन्धी विद्यमान समस्या समाधान गरी समयानुकूल व्यवस्था मिलाउनुपर्ने तथा स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी कुनै कर्मचारीले राजीनामा दिएपछि बाहिरबाट नयाँ कर्मचारी ल्याउने प्रवृत्ति अन्त्य गरी उद्योगमै कार्यरत कर्मचारीलाई आवश्यक तालिम, उचित पारिश्रमिक, पदोन्नति तथा अवसर प्रदान गर्नुपर्ने माग पनि गरिएको छ ।

मागको सुनुवाइ नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने जनाइएको छ ।

ranechhap