काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा बिहीबार सुनुवाइ सुरु भएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग छ । उनीहरूविरुद्ध ३३ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
२०६८ पुस ६ गते तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ र ग्राहक समर्थन (सीआरटीबी एन्ड सीएस) बिलिङ प्रणालीका लागि सम्झौता गरेका थिए ।
जसको उद्देश्य विभिन्न प्लेटफर्ममा विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन, वायरलेस ब्रॉडब्यान्डलगायत दूरसञ्चारसम्बन्धी सेवाहरू एउटै प्लेटफर्ममा एकीकृत गर्नु, रियल–टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना गर्नु र अद्यावधिक गर्नु रहेको थियो ।
खरिद सम्झौतामा वार्षिक मर्मतसम्भार सम्झौताअन्तर्गत ६ वर्षसम्म सेवा दिन सकिने र वार्षिक मर्मतसम्भार (एएमएसी) लिने–दिने कार्यमा ५ प्रतिशत घट्दो दरमा भुक्तानी गर्नुपर्ने व्यवस्था थियो।






































