वि.सं.२०८३ असार १८ बिहीवार

दक्षिण कोरियामा मृत फेला परेका धर्मराजका परिवारले पाए २३ लाख

khanepani

खोटाङ । वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा विमावापत २३ लाख पाएका हुन् ।

मृतक परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायतावापत १० लाख र बीमावापत १३ लाख पाएको खोटेहाङ गाउँपालिका अन्तरगत आप्रवासी स्रोत उपकेन्द्रका पराशर्मकर्ता युवराज कालिकोटेले बताए ।

वैदेशिक रोजगारीका क्रममा २०८० मंसिर २६ गते दक्षिण कोरिया गएका तामाङको २०८२ मंसिर २२ गते मृत्यु भएको थियो । तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेको आफन्तको भनाइ छ ।

आर्थिक सहायता तथा बीमावापतको रकम दिलाइदिनका लागि मृतक परिवारले २०८२ पुस २४ गते आप्रवासी स्रोत उपकेन्द्रमा निवेदन दिएका थिए । निवेदनको आधारमा आप्रवासी श्रोत उपकेन्द्रले आवश्यक कागजात तयार पारेर सोही दिन आर्थिक सहायता तथा बीमाको रकम प्राप्तीकालागि वैदेशिक रोजगार बोर्डमा सिफारिस गरेको थियो । असार १६ गते मृतक परिवारको खातामा आर्थिक सहायता तथा बीमावापतको रकम जम्मा भएको परामर्शकर्ता कालिकोटेले बताए ।

मृतक धर्मराजका श्रीमती र एक छोरा छन् । छोरालाई छात्रवृत्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तयारी गरिएको छ । वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका तीन जनाको ६ जना बालबच्चालाई छात्रबृत्तिका लागि चालु आर्थिक वर्ष सिफारिस गरिसकिएको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई मुक्तीले बताए ।

विदेशमा अभिभावक गुमाएका ४ वर्षदेखि १७ वर्ष उमेरका बालबच्चाले सरकारबाट छात्रबृत्ति पाउने व्यवस्था छ । कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गरिरहेका बालबच्चाले वार्षिक १२ हजार र कक्षा ८ देखि कक्षा १२ मा अध्ययन गरिरहेका बालबच्चाले वार्षिकरुपमा १६ हजार पाइरहेका छन् ।

ranechhap