काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता, शासकबाट संविधान बचाउने दायित्व एकैसाथ कांग्रेस पार्टीमा आएको बताएका छन् ।
नेपाल प्रेस यूनियनको स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै पौडेलले कोरोनाबाट नागरिकलाई बचाउनका लागि सरकारले सम्पूर्ण शक्तिको प्रयोग गर्न नसकेका कारण समस्या भएको टिप्पणी गरे ।
महामारीबाट नागरिकलाई जोगाउनका लागि पनि नेपाली कांग्रेसले ठोस कदम चाल्नुपर्ने उनले बताए । अहिलेका शासकबाट संविधान जोगाउने दायित्व पनि कांग्रेसको काँधमा भएको उनको भनाइ छ । शासकले संसद विघटन गरेर संविधान च्यात्न खोजेको भन्दै पौडेलले संविधान जोगाउनका लागि कांग्रेस मैदानमा आइसकेको दावी पनि गरे ।
पौडेलले संविधानको धारा ७६ को उपधार ५ ले अमेरिकी कांग्रेसका सदस्यले जस्तो सांसदहरूलाई स्वविवेकी अधिकार दिइएको बताए ।
नेता पौडलले पार्टीमा पनि कार्यतालिका बनाएका काम गर्न नसक्दा अन्तिम समयमा महाधिवेशन गर्न नसकेर पार्टीको अस्तित्व समाप्त हुने अवस्थामा आएको भन्दै पार्टी जोगाउनुपर्ने दायित्व पनि कांग्रेस नेता तथा कार्यकर्ताको काँधमा आएको बताए ।
भदौमा महाधिवेशन सम्पन्न नगर्दा पार्टी ‘कोल्याप्स’ हुने अवस्था भएकाले कांग्रेसले महाधिवेशन गर्ने बारेमा पनि चनाखो हुनुपर्नेमा उनको जोड थियो ।









































