काठमाडौं । नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
गएराती डालसमा भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेलाई जित दिलाउन इर्लिङ हालान्डले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । प्याट्रिक बर्गको कटब्याक पासलाई उनले नजिकैबाट जाली चुमाउँदै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।
यससँगै हालान्डले नर्वेका लागि लगातार १३ अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमा गोल गर्ने कीर्तिमानलाई निरन्तरता दिएका छन् । साथै, विश्वकपको नकआउट चरणमा नर्वेको इतिहासकै पहिलो जित दिलाउने खेलाडीसमेत बनेका छन् ।
पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि नर्वेले ३९औँ मिनेटमा अग्रता लिएको थियो । २१ वर्षीय विङ्गर एन्टोनियो नुसाले बायाँतर्फबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेपछि गरेको आकर्षक घुमाउरो प्रहार सिधै जालीको माथिल्लो कुनामा पुगेको थियो । पछि बराबरीको खोजीमा रहेको आइभरी कोस्टका प्रशिक्षक एमेर्स फाएले दोस्रो हाफमा अमाद डियालोलाई मैदान प्रवेश गराए । सुरुदेखि रक्षात्मक रणनीतिका साथ टोली उतारेका उनले अमादलाई बेन्चमा राख्ने निर्णय महँगो सावित भयो । अमादले मैदान छिरेपछि आइभरी कोस्टको आक्रमणमा नयाँ ऊर्जा थपे । खेलको ७४औँ मिनेटमा दायाँतर्फबाट दुई रक्षकलाई छलाउँदै उनले उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । यो जारी प्रतियोगितामा उनको दोस्रो गोल थियो । त्यसभन्दा केही मिनेटअघि उनले रक्षात्मक भूमिकामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। नर्वेका टोर्ब्योर्न हेग्गेमले नजिकैबाट गरेको प्रहार गोलरेखामै पुगेर अमादले रोक्दा आइभरी कोस्ट तत्काल दोस्रो गोल खानबाट जोगिएको थियो । तर खेल अन्त्यतिर नर्वेले निर्णायक प्रहार गर्यो । बर्गको पासमा सही स्थानमा रहेका हालान्डले अवसरको सदुपयोग गर्दै विजयी गोल गरे र नर्वेलाई अन्तिम १६ मा पुर्याए ।
अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलको सामना गर्नेछ।







































