सुनसरी । लागुऔषध कारोबारले सुनसरी जिल्लामा विकराल रूप लिन थालेको छ । प्रहरीले आइतबारमात्रै पाँच जना कारोबारीलाई नियन्त्रणमा लिँदा ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ ।
धरान उपमहानगरपालिका- २० स्थित ओशो पार्कबाट प्रहरीले १ सय १६ ट्याब्लेट ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान– १३, अमरहाट बस्ने २४ वर्षीय डिल्लीराम भन्ने सुजन थापा र मोरङ सुन्दरहरैँचा नगरपालिका- ५ बस्ने २२ वर्षीय सुजित थापा छन् । अस्थायी प्रहरी चौकी, अमरहाटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
धरान– १८, घोपा क्याप अगाडिबाट आइतबार नै एकजना व्यक्तिलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । २ सय ७ ट्याब्लेट स्पास्मो र १० ट्याब्लेट ट्रामाडोल सहित ३४ वर्षीय दिलिप चौधरी पक्राउ परेका हुन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका– १ मा डेरा गरी बस्ने ओखलढुङ्गा घर भएका ३२ वर्षीय मनोज काफ्लेसहित दुई जनालाई पनि प्रहरीले १ ग्राम ३ सय १० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । उनीहरुबाट १० ट्याब्लेट ट्रामाडोल र नगद २ लाख १० हजार ४ सय ३५ रूपैयाँ बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले मनोजको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।






































