वि.सं.२०८३ असार १४ आइतवार

बैतडीमा एक महिनामै मोबाइल बैंकिङ स्क्यामका ११ उजुरी, शिक्षित वर्ग नै सिकार

khanepani

बैतडी । बैतडीमा मोबाइल बैंकिङ तथा सामाजिक सञ्जालमार्फत हुने डिजिटल ठगीका घटना बढ्दै गएका छन् । जेठ महिनामा मात्रै मोबाइल बैंकिङ ह्याक गरी आठ लाख रुपैयाँ भन्दा बढी रकम ठगी भएको भन्दै ११ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक भुवन तिमिल्सेनाका अनुसार बैंक खाता जोखिममा रहेको, केवाईसी अद्यावधिक गर्नुपर्ने, पासवर्ड परिवर्तन गर्नुपर्ने वा अनलाइन सामान खरिदसम्बन्धी बहानामा फिसिङ लिंक पठाएर ठगी गर्ने क्रम बढेको छ ।

उनका अनुसार ठगहरूले बैंक वा वित्तीय संस्थाको नाम प्रयोग गर्दै मोबाइलमा सन्देश पठाउँछन् । प्रयोगकर्ताले त्यसमा क्लिक गरी पासवर्ड, ओटीपी वा अन्य गोप्य विवरण प्रविष्ट गरेपछि खातामा रहेको रकम अन्य बैंक खातामा स्थानान्तरण हुने गरेको छ ।

डिजिटल स्क्यामको पछिल्लो सिकारमध्ये बैतडीको पुर्चौडी नगरपालिका–५ की कमला बोहरा पनि एक हुन् । गत जेठ २८ गते फेसबुक म्यासेन्जरमा आएको सन्देशमा मोबाइल बैंकिङ खाता जोखिममा रहेको भन्दै पासवर्ड परिवर्तन गर्न भनिएको थियो । उनले निर्देशनअनुसार पासवर्ड परिवर्तन गरेलगत्तै नबिल बैंकमा रहेको तीन लाख रुपैयाँ र ‘फोन लोन’मार्फत थप ५० हजार रुपैयाँ गरी साढे तीन लाख रुपैयाँ खाताबाट झिकिएको सन्देश प्राप्त भएको थियो ।

बैंकमा पुगेर बुझ्दा रकम अनलाइनमार्फत अर्को बैंक खातामा स्थानान्तरण भइसकेको जानकारी पाएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार उक्त घटनापछि बोहरा आर्थिक तथा पारिवारिक दुवै समस्यामा परेकी छन् ।

यस्तै, बैतडीकै पाटन नगरपालिका–८ का सुरेश विष्ट पनि यस्तै प्रकृतिको ठगीमा परेका छन् । फेसबुक म्यासेन्जरमा आएको सन्देश अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ पासवर्ड परिवर्तन गरेलगत्तै उनको खाताबाट तीन लाख रुपैयाँ स्थानान्तरण भएको थियो । उनले तत्काल बैंकलाई जानकारी गराएर खाता रोक्का गराएका कारण थप रकम भने जोगिएको थियो ।

विष्टका अनुसार रकम सानिमा बैंकमा स्थानान्तरण भएको जानकारी पाए पनि कसको खातामा गएको हो भन्ने विवरण सहजै प्राप्त गर्न नसक्दा अनुसन्धान प्रक्रिया जटिल बनेको छ ।

प्रहरी निरीक्षक तिमिल्सेनाका अनुसार फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा पठाइने फिसिङ लिंकमार्फत मोबाइल ह्याक गरी रकम चोरी गर्ने गिरोह सक्रिय छन् । पछिल्लो समय अनलाइन सामान खरिद, बेटिङ एप, बैंक खाता अद्यावधिक, सुरक्षा जाँच तथा केवाईसी नवीकरणका नाममा समेत यस्ता सन्देश आउने गरेका छन् ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक इन्द्रदेव भट्टका अनुसार शिक्षित र विभिन्न पेशामा आबद्ध व्यक्तिहरू समेत यस्ता ठगीको सिकार बन्ने गरेका छन् ।

‘स्वास्थ्यकर्मी, शिक्षकलगायत समाजका प्रतिष्ठित व्यक्तिहरू पनि उजुरी लिएर आउनु भएको छ,’ उनले भने, ‘“जथाभावी लिंक खोल्ने, पासवर्ड परिवर्तन गर्न भन्दै आएका सन्देशमा विश्वास गर्ने वा ओटीपी तथा गोप्य विवरण उपलब्ध गराउने काम गर्नु हुँदैन ।’

प्रहरीले बैंक वा वित्तीय संस्थाले फेसबुक म्यासेन्जर, ह्वाट्सएप वा अन्य सामाजिक सञ्जालमार्फत पासवर्ड परिवर्तन गर्न वा ओटीपी माग्ने सन्देश सितिमिति नपठाउने भएकाले यस्ता सन्देशप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

ranechhap