काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्याक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलाशले त्यस्तो आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्र अनुसार प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरी उनलाई काठमाडौं ल्याएको थियो ।
पौडेललाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको भन्दै थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग रिट निवेदनमा उल्लेख छ । सर्वोच्चले उनलाई पक्राउ आदेश दिने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग पक्राउ गर्नुपर्नाको कारण माग गरेको हो ।
उक्त कारण पेश भएपछि अर्को पेशीमा आवश्यक निर्णय लिइने भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।







































