वि.सं.२०८३ असार ११ बिहीवार

लुम्बिनीका चार उपमहानगरको बजेटः विकास खर्च भन्दा चालु खर्च बढी

khanepani

रुपन्देही । लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले निर्धारित समय तालिकामा बजेट ल्याएका छन् । यीमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सबैभन्दा धेरै करिब चार अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँदा बाँकेको नेपालगन्जले सबै भन्दा कम आकारको बजेट ल्याएको छ । असार १० गतेभित्रै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुसार प्रदेशका चार वटै उपमहानगरपालिकाले समयमै आफ्नो बजेट ल्याएका हुन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका र बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले बुधबार बजेट ल्याएका हुन् भने दाङका तुलसीपुर र घोराही उपमहानगरपालिकाले असार ८ गते नै बजेट सार्वजनिक गरेका थिए । बजेटको आकारका आधारमा तुलना गर्दा चार उपमहानगरपालिकामध्ये सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाको रहेको छ भने सबैभन्दा सानो बजेट नेपालगञ्ज उपमहानगरपालिकाको रहेको छ । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभामा प्रस्तुत गरेको बजेटमा कुल खर्चमध्ये ५२ प्रतिशत चालु तथा ४८ प्रतिशत पुँजीगत खर्च रहने अनुमान गरिएको छ ।

उता नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सामान्यतया उपप्रमुखले बजेट प्रस्तुत गर्ने प्रचलन रहेपनि उपप्रमुख कमरुद्दिन राई सङ्घीय निर्वाचनमा उम्मेदवार बनेपछि पद रिक्त भएकाले १९ औँ नगरसभामा नगर प्रमुख प्रशान्त विष्टले नै नीति तथा कार्यक्रम तथा बजेट प्रस्ताव गरेका हुन् । नगर प्रमुख विष्टले प्रस्तुत गरेको बजेटमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक तथा विशेष अनुदान अन्तर्गत ७६ करोड ४८ लाख ५० हजार रुपैयाँ समावेश गरिएको छ। बजेटमा आन्तरिक आयतर्फ २५ करोड रुपैयाँ तथा घरजग्गा रजिस्ट्रेसन शुल्कबाट १४ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

त्यसैगरी,चालु खर्चतर्फ ४२ करोड २५ लाख ५० हजार रुपैयाँ,वडा कार्यालयका लागि २१ करोड रुपैयाँ, नगरस्तरीय तथा प्रवर्द्धनात्मक कार्यक्रमका लागि १९ करोड ९० लाख रुपैयाँ तथा विषयगत शाखाका लागि ८ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

दाङका दुई उपमहानगरपालिकामध्ये तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ भने घोराही उपमहानगरपालिकाले २ अर्ब ३७ करोड ९५ लाख २२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यी दुई उपमहानगरले सोमबार बजेट प्रस्तुत गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले नगरसभामा आर्थिक वर्ष २०८३–८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँको बजेट प्रस्ताव प्रस्तुत गरेकी छन् ।

प्रस्तावित बजेटमध्ये ५६ प्रतिशत चालु खर्च, ४२.३५ प्रतिशत पुँजीगत खर्च तथा १.६५ प्रतिशत वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतबाट ५४ करोड रुपैयाँ, सङ्घीय सरकारबाट विभिन्न शीर्षकमा १ अर्ब २१ करोड भन्दा बढी तथा प्रदेश सरकारबाट करिब ८ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीले आर्थिक वर्ष २०८३–८४ का लागि अनुमानित बजेट प्रस्तुत गरेकी छन्। कुल विनियोजित रकममध्ये सङ्घीय सरकारबाट प्राप्त हुने ७७ करोड ५२ लाख २२ हजार रुपैयाँ सशर्त अनुदानमार्फत पूर्ति गरिनेछ। अनुदानमध्ये २ करोड ३५ लाख रुपैयाँ चालु खर्च तथा ७५ करोड १७ लाख २२ हजार रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरिएको छ । त्यसैगरी, प्रदेश सरकारबाट प्राप्त हुने ३ करोड ६४ लाख ५० हजार रुपैयाँ सशर्त अनुदानमध्ये २५ लाख ५० हजार रुपैयाँ चालु खर्च र ३ करोड ३९ लाख रुपैयाँ पुँजीगत खर्चका लागि व्यवस्था गरिएको छ ।

ranechhap