वि.सं.२०८३ असार ११ बिहीवार

वैभव सूर्यवंशीका भाईको किन हुदैछ चर्चा ?

khanepani

काठमाडौँ । भारतीय क्रिकेटका उदाउदा खेलाडी वैभव सूर्यवंशीका कान्छा भाइ आशिर्वाद सूर्यवंशीले फेरि शतकीय इनिङ्स खेल्दै सबैको ध्यान खिचेका छन् ।

१० वर्षीय आशिर्वादले स्थानीय प्रतियोगितामा ११९ बलमा १६८ रनको विस्फोटक इनिङ्स खेलेका हुन् । उनले आफ्नो इनिङ्समा १९ चौका र ६ छक्का प्रहार गरेका थिए ।

उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा ऋषभ–११ ले समस्तीपुरमा भएको खेलमा वैशाली–११ लाई पराजित गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका हुन् । आशिर्वादले सामाजिक सञ्जालमार्फत आफ्नो इनिङ्सबारे जानकारी दिएका थिए ।

यसअघि पनि यही महिनामा उनले ताजपुर क्रिकेट एकेडेमीबाट खेल्दै अभ्यास खेलमा ८७ बलमा १०३ रनको शतक प्रहार गरेका थिए । आशिर्वादका पिता सञ्जीव सूर्यवंशीले उनलाई पनि आगामी दुई वर्षभित्र दाजु वैभवजस्तै उत्कृष्ट क्रिकेटर बनाउने लक्ष्य रहेको बताएका छन् । उनी हाल बिहारमा क्रिकेट प्रशिक्षण गरिरहेका छन् । दायाँहाते ब्याटर आशिर्वाद आक्रामक ब्याटिङ शैली, राम्रो समय मिलाएर खेल्ने क्षमता, उत्कृष्ट सट छनोट र शक्तिशाली प्रहारका लागि परिचित बन्दै गएका छन् ।

यता, १५ वर्षीय वैभव सूर्यवंशी अहिले भारतीय क्रिकेटका चर्चित खेलाडी हुन् । उनी आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्धको टी–२० सिरिज तथा एसियाली खेलकुदका लागि भारतीय टोलीमा परेका छन् । १५ वर्ष ७१ दिनको उमेरमा राष्ट्रिय टोलीमा स्थान बनाएर उनी भारतका सबैभन्दा कम उमेरमा छनोट हुने क्रिकेटर बनेका छन् ।

केही दिनअघि उनले भारत-ए टोलीबाट खेल्दै ११ बलमै अर्धशतक प्रहार गरी ५० ओभरको क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने विश्व कीर्तिमान पनि कायम गरेका थिए ।

वैभवले इन्डियन प्रिमियर लिग २०२६ मा ७७६ रन बनाउँदै उत्कृष्ट ब्याटरको उपाधि जितेका थिए । उनले सर्वाधिक मूल्यवान खेलाडी, उत्कृष्ट उदाउँदो खेलाडी, उत्कृष्ट स्ट्राइक रेट र सर्वाधिक छक्का प्रहारकर्ताको पुरस्कारसमेत प्राप्त गरेका थिए ।

ranechhap