विराटनगर । अविरल वर्षासँगै खसेको पहिरोले संखुवासभा र ताप्लेजुङमा क्षति पुगेको छ । यहाँका ग्रामीण सडकहरू अवरुद्ध हुनाका साथै जलविदुत आयोजनामा क्षति पुगेको छ । केही घरमा समेत क्षति पुगेको प्रदेश प्रहरीले जनाएको छ ।
संखुवासभाको खाँदबारी-किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका-३ स्याबुङ क्षेत्रमा पहिरोले कोशी सडक आयोजना अन्तर्गत छोङराङ आसपासको सडक सोमबार साँझदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
भोटखोलाबाट खाँदबारीतर्फ आउँदै गरेका र खाँदबारीबाट उत्तरी क्षेत्रमा जाँदै गरेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । दैनिक उपभोग्य वस्तुको ढुवानी, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ ।
त्यस्तै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका ३ घरमा क्षति पुर्याएको छ । फक्ताङलुङ-१ साँवादिनको तेम्रङ क्षेत्रमा घरमाथिबाट खसेको पहिरोले गणेश कटवाल र दुर्गा कटवालको घरमा क्षति पुर्याएको हो । मिक्वाखोला गाउँपालिकामा सञ्चालित मध्यमेवा जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ ।
सोमबार बिहान पहिरोका कारण अवरुद्ध भएको मेरिङ्देन गाउँपालिका-५ थुकिमा र वडा नम्बर ६ नाल्बु जोड्ने सडक भने अवरोध हटाएपछि दिउँसोदेखि पुनः सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।








































