वि.सं.२०८३ असार ६ शनिवार

स्कटल्यान्डमाथि साइबारीको गोलमा मोरक्कोको जित

khanepani

काठमाडौँ । स्कटल्यान्ड मोरक्कोसँग १- ० ले पराजित भए पनि विश्वकपको नकआउट चरणमा पुग्ने आशा अझै जीवित राख्न सफल भएको छ । अब उसको भविष्य अन्तिम समूह खेलमा निर्भर रहनेछ ।

खेल सुरु भएको ७१ सेकेन्डमै गोल खाँदा स्कटल्यान्डले निकै खराब सुरुआत गरेको थियो । अफ्रिका कप अफ नेसन्सको विजेता तथा विश्व वरीयताको पाँचौँ स्थानमा रहेको मोरक्कोका इस्माइल साइबारीले दोस्रो मिनेटभित्रै शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

प्रशिक्षक स्टिभ क्लार्कले हैटीविरुद्धको जितपछि टोलीमा केही परिवर्तन गरेका थिए । मोरक्कोका कप्तान अशरफ हाकिमीलाई नियन्त्रणमा राख्ने उद्देश्यले किरन टियर्नीलाई बायाँ मिडफिल्डमा उतारिएको थियो। तर स्कटल्यान्डको योजना सुरुमै असफल बन्यो । डिफेन्डर ग्रान्ट ह्यान्ली र ज्याक हेन्ड्रीको कमजोरीको फाइदा उठाउँदै साइबारीले गोल गरेपछि स्कटल्यान्ड दबाबमा परेको थियो ।

मोरक्कोले खेलभर अधिकांश समय नियन्त्रण कायम राखे पनि स्कटल्यान्डलाई थप गोल भने गर्न सकेन। पहिलो हाफको अन्त्यतिर जोन म्याकगिनले बराबरी गर्ने राम्रो अवसर पाए पनि उनको प्रहार लक्ष्यभन्दा बाहिरियो ।

दोस्रो हाफमा स्कटल्यान्डले केही राम्रो प्रदर्शन गर्दै पेनाल्टीको माग गरेको थियो। म्याकगिन र स्कट म्याकटोमिने दुवै पटक मैदानमा लडे पनि रेफ्रीले पेनाल्टी दिएनन् ।

उता, डिफेन्डर ज्याक हेन्ड्रीको अन्तिम क्षणको उत्कृष्ट ब्लक र गोलरक्षक एङ्गस गनको शानदार बचाउले स्कटल्यान्डलाई थप गोल खानबाट जोगायो ।

खेलको अन्त्यतिर स्कटल्यान्डले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

पराजयपछि पनि स्कटल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ। अब उसले जुन २५ मा हुने अन्तिम समूह खेलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै मोरक्कोले अन्तिम खेलमा सोहि दिन हैटीको सामना गर्ने छ ।

ranechhap