काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-२ बस्ने नुवाकोट घर भएकी ४६ वर्षीया शारदा कुमारी अधिकारी, कास्की पोखरा महानगरपालिका-३२ बस्ने २९ वर्षीया सुनिता सुवेदी तिवारी, भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ईलाम घर भएकी ३५ वर्षीया सावित्रा देवी अर्याल, रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बस्ने ४३ वर्षीय ऋर्षि राम पाण्डे, ३६ वर्षीया अनिता पाण्डे, सोही नगरपालिका-१ बस्ने पाल्पा घर भएकी ३५ वर्षीया अम्बिका घिमिरे र ललितपुर महालक्ष्मी नगरपालिका-१० बस्ने महोत्तरी घर भएका २२ वर्षीय योगेश कुमार यादव रहेका छन् ।
पक्राउ मध्ये शारदाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, सुनिताले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, सावित्राले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, ऋर्षि रामले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, अनिताले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, अम्बिकाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ र योगेशले ग्रीस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई टोखा नगरपालिका-२ बाट, ऋर्षि राम र अनितालाई काठमाडौं महानगरपालिका-१३ बाट, अम्बिकालाई काठमाडौं महानगरपालिका-१ बाट र योगेशलाई ललितपुर महानगरपालिका-१० बाट तथा सुनितालाई काठमाडौं महानगरपालिका-१२ बाट र सावित्रालाई भक्तपुर नगरपालिका-१ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।









































