वि.सं.२०८३ असार ३ बुधवार

जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त

khanepani

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आएको छ। उक्त निर्णयअनुसार पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरणबाट १६ जना सहिद परिवारका सदस्यहरूले करार नियुक्ति प्राप्त गरेका हुन्।

आफू ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रीको जिम्मेवारीमा रहँदा गरेको निर्णयले सार्थकता पाएको भन्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत अत्यन्त खुसी र सन्तुष्टि व्यक्त गरेका छन्।

घिसिङले आफ्नै अध्यक्षतामा गत पुस २२ गते बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सहिद परिवारलाई रोजगारी दिने यो महत्त्वपूर्ण निर्णय गरेको स्मरण गराएका छन्। तत्कालीन अवस्थामा मन्त्रालयमा प्राप्त भएका कुल २७ वटा निवेदनका आधारमा छानबिन गरी सहिद परिवारका सदस्यहरूको पहिचान र यकिन गरिएको थियो।

त्यसपछि उनीहरूको शैक्षिक योग्यता र दक्षताअनुसार पायक पर्ने प्राधिकरणका विभिन्न कार्यालयहरूमा बढीमा तीन तहसम्मको करार नियुक्ति दिने व्यवस्था सञ्चालक समितिले गरेको थियो। यो ऐतिहासिक र कल्याणकारी निर्णय सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबिच भएको पूर्वसम्झौता, मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा सहिद परिवारका सदस्यहरूले दिएको आधिकारिक निवेदनका आधारमा गरिएको हो।

आफ्नो फेसबुक पोस्टमार्फत पूर्वउर्जामन्त्री घिसिङले देश र परिवर्तनका लागि सहिदहरूले गरेको अमूल्य बलिदानप्रति उच्च सम्मान व्यक्त गरेका छन्। उनले सहिदका परिवारप्रति राज्यको न्यूनतम उत्तरदायित्व निर्वाह गर्ने यस महत्त्वपूर्ण र मानवीय कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण आदरणीय व्यक्तित्व र सम्बद्ध निकायहरूप्रति धन्यवाद समेत प्रकट गरेका छन्।

उनीहरूलाई रोजगारी दिने यस कदमले पीडित परिवारको घाउमा केही हदसम्म मलम लाग्ने विश्वास लिइएको छ।

ranechhap