वि.सं.२०८३ असार २ मंगलवार

इस्कोनमा बालबालिका दुर्व्यवहार गर्ने एक जना अझै फरार, अनुसन्धानमा सघाउने संस्थाको प्रतिबद्धता

khanepani

काठमाडौं । बालबालिकामाथि मानसिक हिंसा र दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का सञ्चालक सुरजकृष्ण श्रेष्ठ लाई थप तीन दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ । मुख्य कसुरदारका रूपमा किटान गरिएका १९ वर्षीय ईश्वर श्रेष्ठ भने हालसम्म फरार छन् ।

बूढानीलकण्ठ नगरपालिका- ५ मा अवस्थित इस्कोनमा आश्रित बालबालिकालाई मानसिक हिंसा र दुर्व्यवहार गरेको भनी सम्बन्धित बालबालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा गत साता श्रेष्ठ पक्राउ परेका थिए । बालबालिकासम्बन्धी कसुरमा सजाय माग गर्दै अभिभावकले जाहेरी दिएका थिए ।

जाहेरीमा उल्लेखितमध्ये सञ्चालक सुरजकृष्ण श्रेष्ठमात्रै पक्राउ परेका छन् । दुर्व्यवहारमा संलग्न ईश्वर श्रेष्ठ हालसम्म फरार छन् । तर, सुरजकृष्णविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा अभद्र व्यवहार मुद्दा चलाएर अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पाँच दिनको अनुसन्धान अवधि पूरा भएपछि सोमबार तीन दिन म्याद थप भएको हो ।

२०७८ सालदेखि उक्त आश्रममा बस्दै आएकी नावालिगमाथि शारीरिक दुर्व्यवहार गरेको आरोप नाबालिगका बाबुआमाले लगाएका छन् । बाबुआमा पनि त्यहीँका कर्मचारी हुन् । बालिकाका भाइ पनि त्यहीँ आश्रित छन् । ८ वर्षको उमेरदेखि आध्यात्मिक संस्कार र कृष्णभक्ति अभ्यासका निम्ति त्यहाँ आश्रित बालिकामाथि १० वर्षको उमेरदेखि दुर्व्यवहार भएको अभिभावकले जाहेरीमा उल्लेख गरेका छन् । बालिकाका भाइ पनि ५ वर्षकै उमेरदेखि त्यहाँ बस्दै आएका छन् । उनीमाथि पनि दुर्व्यवहार भएको प्रहरीमा प्रस्तुत जाहेरीमा उल्लेख छ ।

दाङका स्थानीयवासी पीडित बालबालिकाका बुबा त्यहीँका सवारी चालक र आमा क्यान्टिनमा सरसफाइको काम गर्छिन् ।

अनुसन्धानमा सघाउने इस्कोनको प्रतिबद्धता

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी अनुसन्धानमा सघाउने जनाएको छ । आइतबार जारी प्रेस विज्ञप्तिमा सत्य, तथ्य तथा निष्पक्ष अनुसन्धानको माग गर्दै अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘यस अनुसन्धानको क्रममा व्यक्तिगत आरोप तथा आक्षेपलाई पवित्र उद्देश्यका साथ स्थापित धार्मिक एवं आध्यात्मिक संस्थासँग जोडेर अनर्गल प्रचार नगर्नु हुन अनुरोध गर्दछौं ।’ इस्कोन नेपाल बालबालिकाको हक, हित तथा संरक्षणप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

ranechhap