काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजुरेलले मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यानाकर्षण गराए ।
क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधवारदेखि नेपालको पूर्वी भाग (कोशी प्रदेश) बाट मनसुन शुरु भई अत्यधिक वर्षा (क्लाउड बर्स्ट रेन) हुने सम्भावना रहेको उनले उल्लेख गरे ।
गत वर्षको मनसुनले क्षतिग्रस्त बनाएका पूर्वी नेपालका भौतिक संरचना अझै पुनर्निर्माण भइनसकेको अवस्थामा आगामी साता हुने निरन्तरको वर्षाले थप क्षति पुर्याउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘नागरिकको जीवन, सडक, पुल, विद्युत्, सञ्चार उपकरण र अस्पतालजस्ता सार्वजनिक संरचनाको सुरक्षाका लागि सरकारको तयारी कस्तो छ, केही थाहा हुन सकेको छैन,’ सांसद गजुरेलले भने, ‘राहत र उद्धारमा खटिने स्वयंसेवक, रेडक्रस र सुरक्षा निकायको परिचालनका विषयमा पनि स्पष्टता छैन ।’
यसैगरी, नेपालको पश्चिमी भागमा आगामी १० दिनसम्म लगातार सुक्खा मौसम रहने र तातो हावा (लू) चल्ने पूर्वानुमान रहेकाले त्यसबाट नागरिकलाई जोगाउन सरकारले के–कस्तो कदम चालिरहेको छ ? भनी उनले प्रश्न गरे ।
विपद् पूर्वतयारीका विषयमा गृहमन्त्रीले सदनमा उपस्थित भएर जानकारी दिनुपर्ने माग गर्दै सांसद गजुरेलले यसका लागि सभामुखमार्फत सरकारलाई रुलिङ गर्न पनि आग्रह गरे ।








































