काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको देश बनाउने टिमका सदस्यबाट ठेकेदारको खुट्टा भाँच्ने धम्की आउनु निन्दनीय भएको बताए ।
नागढुङ्गा-मुग्लिन सडक खण्डको अवलोकनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिने धम्की दिएका थिए ।
दुलालले प्रधानमन्त्रीले सार्वजनिक गरेको देश बनाउने टिमका सदस्यबाट त्यस्तो अभिव्यक्ति आउँदा नवयुवाले के सिक्ने भन्ने प्रश्न पनि गरेका छन् ।
उनले भने, ‘हिजो प्रधानमन्त्रीले देश बनाउने तीन सदस्यीय जम्बो टोलीको फोटो सार्वजनिक गर्नु भएको थियो । त्यस लगत्तै एक सदस्य योद्धा मन्त्रीजीले निर्माण व्यवसायीको खुट्टा भाँच्न सार्वजनिक रूपमा निर्देशन दिनु भएछ। विधिको शासन की धम्कीको शासन मन्त्री जी, तपाईँको उक्त अभिव्यक्ति निन्दनीय छ । तपाईँ देशको मन्त्री, युवाको आदर्श ! तपाईँबाट नवयुवाले के सिक्ने ?’
सुकुम्वासी बस्तीमा अमानवीय आक्रमण, कैलालीमा टेम्पो भिरबाट गुल्टाउने र घरका छानामाथि ढुङ्गा हान्ने बहादुर सरकारले निर्माण व्यवसायीलाई खुट्टा भाँच्ने निर्देशन दिनु ठुलो कुरा नभएको टिप्पणी उनको छ ।
दुलालले अतिक्रमित भूमिबारे भारतसँग बोल्न डिप्लोम्याटिक च्यानल प्रयोग गर्नुपर्ने बताउने सरकारका मन्त्री नेपाली थर्काउन पर्याप्त रहेको बताए ।
सरकार नेतृत्वकर्ता रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भनेका छन्, ‘अतिक्रमित भूमिको बारेमा भारतसँग बोल्न पो ‘डिप्लोम्याटिक च्यानल्ज’ प्रयोग गर्नुपर्छ त नेपाली थर्काउन त मन्त्री नै पर्याप्त छन् नि होइन, कि कसो सभापतिजी ?’








































