काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्मालाई गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको आरोप लगाएको छ।
सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले राष्ट्रियताको विषयमा बोल्दा पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।
अभियानका सचिव प्रकाश बमले आफ्ना सहकर्मीहरुलाई वर्तमान सरकारले विना कारण पक्राउ गरेको आरोप लगाएका छन् ।
नेपालको सीमा सुरक्षा, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय हितको पक्षमा आवाज उठाउँदा गिरफ्तार गरिएको आरोप लगाउँदै बमले भने,“संवैधानीक अधिकारमा टेकेर गरिएको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्दै राष्ट्रभक्ति आवाजको हत्या गर्ने निरङ्कुशता तर्फ सरकार जाँदै छ ।” बमले आफ्ना साथिहरुलाई तत्काल रिहा गर्न मागसमेत गरे ।
जेनजी अगुवा सुजन पौडेलले सोडारी र विश्वकर्मालाई गत शुक्रबार राति कार्यक्रम सम्पन्न गरेर घर फर्किने क्रममा लखेटी–लखेटी पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरे । गृहमन्त्री बहाली हुनुपूर्व यस अघि नै आफ्नो टोलिलाई प्रहरी हिरासतमा गई धम्काएको विषयलाई स्मरण गर्दै पौडेलले भने,“हामीमाथि गृहमन्त्री सुदन गुरुङले बारम्बार प्रतिशोध लिनुपर्ने कारण के छ ।” उनले आफ्ना साथिहरुलाई विनासर्त रिहाई गर्न माग गरे ।
जेनजी उमेश चन्दले राष्ट्र हितका पक्षमा उठेका आवाजलाई दबाएर भन्दा सम्बोधन गरेरमात्रै समस्याको हल हुने बताए । उनले राष्ट्रभक्त युवाहरुलाई राज्यले हिरासतमा राखेर दुःख दिने कार्य गरिरहे थप संघर्षमा उत्रने चतावनी दिए ।









































