वि.सं.२०८३ जेठ ३१ आइतवार

चिया निर्यातमा भारतीय अवरोध: इलामका ५३ उद्योग बन्द हुँदै, ३ हजार किसान संकटमा

khanepani

विराटनगर । भारतीय पक्षले विभिन्न बहानामा नेपाली चिया निर्यातमा अवरोध गरेपछि उत्पादनको मुख्य सिजनमै चिया उद्योगीहरूले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । इलामको सूर्योदय नगरपालिकाका उद्योगीहरूले आउँदो असार १ गतेदेखि कारखाना बन्द गर्ने निर्णय गरेका हुन् । उत्पादित चिया बिक्री गर्न समस्या भएको भन्दै उद्योगीहरूले कारखाना बन्द गर्ने घोषणा गरेपछि किसानहरू ठूलो मर्कामा परेका छन् ।

सूर्योदय नगरपालिकामा मात्रै २ हजार ९ सय ९५ चिया किसान छन् । नगरको ३३ हजार ६ सय ५५ रोपनीमा भइरहेको चिया खेतीबाट वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ ।

भारतीय पक्षले अहिले कोलकाता पुगेको चिया बिक्रीमा अवरोध गरेपछि नेपाली भन्सार पार गरिसकेको २ लाख किलो भन्दा बढी चिया त्यहाँका गोदाममै थन्किएको छ । गोदाममा चिया थन्किँदा भाडा र अन्य प्राविधिक समस्याले उद्योगहरू आर्थिक दबाबमा परेका छन् । त्यस्तै नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी चिया थन्किएको उद्योगीहरूले बताएका छन् ।

इलामको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले विज्ञप्ति जारी गर्दै असार १ गतेदेखि नै उद्योग बन्द गर्ने घोषणा गरेको छ । तयारी चिया बिक्री गर्न नपाउँदा किसानबाट खरिद गरेको हरियो पत्तीको मूल्य दिन नसकिने भएकाले कारखाना बन्द गर्नुपरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनमा ५३ वटा उद्योग आबद्ध छन् । ती उद्योग बन्द हुँदा किसानको बगानमा रहेको चिया बोटमै खेर जाने अवस्था आएको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा यति बेला ‘फर्स्ट फ्लस’ (पहिलो टिपाइ) को तयारी चिया बिक्री गर्ने मुख्य सिजन हो । तर, भारतीय चिया बोर्डले सबै बोराको गुणस्तर परीक्षण गर्नुपर्ने नयाँ नियम लगाएपछि चिया बिक्री हुन सकेको छैन । यस अघि प्रत्येक गाडीको गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार नेपाली सीमा पार भएर कोलकाता पुगेपछि पनि चिया बिक्री हुन सकेको छैन ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले उत्पादित चिया भण्डारणमा गम्भीर समस्या देखिएको बताए । “कारखानामा चिया प्रशोधन भइरहेको छ, तर निर्यात हुन सकेको छैन । निर्यात नहुँदा उद्योगका भण्डारहरू भरिएका छन्,” उनले भने ।

भारतीय चिया बोर्डले गत मे १ देखि ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ । एसओपी लागू भएपछि चियाको गुणस्तर परीक्षण अनिवार्य रूपमा सरकारी प्रयोगशाला (ल्याब) मै गर्नुपर्ने बाध्यता थपिएको छ । यसअघि निजी ल्याबमा पनि परीक्षण हुँदै आएको थियो । सरकारी ल्याबमा मात्र परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्थाले नेपाली निर्यातकर्ताहरू समस्यामा परेका हुन् ।

भारतीय बोर्डको अवरोधपछि उद्योगीहरू गत वैशाख २७ मा काठमाडौँ पुगेर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय चिया बोर्डले १९ मे २०२४ मा अर्को विज्ञप्ति जारी गरी केही व्यवस्था खारेज गरेको बताएको थियो ।

तर, पहिले प्रत्येक गाडीको गुणस्तर परीक्षण हुने गरेकामा अहिले प्रत्येक बोराकै परीक्षण गर्नुपर्ने नियम लगाइएको उद्योगीहरूको गुनासो छ । एसोसिएसनका महासचिव गोपाल कट्टेलले यसअघि पनि विभिन्न बहानामा निर्यात रोक्ने प्रयास भए पनि अहिलेको जस्तो बजार पुगिसकेको चिया नै नष्ट हुने गरी कडाइ कहिल्यै नगरिएको बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलो भन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशत हिस्सा भारतीय बजारले ओगट्छ ।

ranechhap