वि.सं.२०८३ जेठ २९ शुक्रवार

विगत देखाएर अहिलेको बदमासीबाट उम्किन पाइँदैन : सांसद बराल

khanepani

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व हिनामिना गरेको गम्भीर आरोप लगाउँदै छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बजेटमा करको दर तलमाथि गरेर अर्थमन्त्री वाग्लेले राजस्व हिनामिना गरेकाले संसदीय छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताएका हुन् ।

सांसद बरालले विगतको इतिहास देखाएर अर्थमन्त्री वाग्लेले आफूले गरेको वर्तमान गल्ती र कमजोरीबाट उम्किन नपाउने स्पष्ट पारे। संसद्‌मा बोल्दै सांसद बरालले विगतमा त्यस्ता कुनै घटना भएका भए त्यसको छानबिनको दायरामा आउन प्रतिपक्ष दलहरू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।

उनले भने, ‘आज देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्त गरिरहँदा विगतको इतिहासलाई केलाएर केही सन्दर्भहरू उठाउनु भयो । म सभामुख महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु– कि विगतका सबै घटनाहरूलाई दूधको दूध, पानीको पानी गरेर छुट्याउनका लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ। त्यसले सत्यलाई उजागर गर्न चाहन्छ, कमजोरी भए सच्याउन चाहन्छ। तर, विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दररेटमाथि छेडखानी गरेर राजस्वलाई तलमाथि पार्नु भएको छ, यो चिजबाट उम्किन पाइँदैन।’

सांसद बरालले बजेट र करको दरमा भएको भनिएको यो बदमासीलाई सदाका लागि अन्त्य गर्न पनि संसदीय छानबिन समिति अनिवार्य रहेको जिकिर गरे। उनले थपे, ‘यस दिशातर्फ माननीय अर्थमन्त्रीज्यूको सभामुखमार्फत अविलम्ब ध्यानाकृष्ट गरियोस्। र एउटा संसदीय समितिमार्फत यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्दछ। अन्यथा यस खालका चलनहरू चलिरहनेछन्। र, गलत चिजहरूको नजिर र अभ्यास बसिरहनेछ।’

यसका साथै सांसद बरालले अर्थमन्त्री वाग्लेमाथि छानबिन प्रक्रिया अगाडि बढाउन र संसद्‌मा तत्काल कदम चाल्नका लागि सभामुख डोलप्रसाद अर्यालको गम्भीर ध्यानाकर्षण समेत गराए ।

ranechhap