वि.सं.२०८३ जेठ २९ शुक्रवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौँदेखि बिग्रेका डायलासिस मेसिन सञ्चालनमा, बिरामीलाई ठुलो राहत

khanepani

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौँदेखि बिग्रिएर थन्किएका हेमोडायलासिस मेसिनहरू मर्मत गरेर सञ्चालनमा ल्याइएको छ।

मेसिन बिग्रिएका कारण मिर्गौला रोगका बिरामीहरू लामो समयदेखि सेवा पाउनका लागि पालो कुर्न बाध्य हुँदै आएका थिए। प्रतिष्ठानका अनुसार पोखराबाट हेमोडायलासिससम्बन्धी प्राविधिक विज्ञको विशेष टोली बोलाएर ती मेसिनहरूको मर्मत गरिएको हो।

यससँगै प्रतिष्ठानमा रहेका कुल १६ वटा डायलासिस मेसिनमध्ये १५ वटा पूर्ण रूपमा सञ्चालनमा आएका छन्। प्रतिष्ठानका सूचना अधिकारी रमिता गौतमले यस अघि बिग्रिएका पाँचवटा डायलासिस मेसिन बनेपछि उपचारका लागि आउने बिरामीहरू थप लाभान्वित भएको बताएकी छन्।

लामो समयदेखि थन्किएका मेसिन बनेर सञ्चालनमा आएपछि ओछ्यान नपाएर भौँतारिनुपर्ने मिर्गौलाका बिरामीहरूले ठूलो राहत महसुस गरेका छन्। मेसिन मर्मत भएसँगै आकस्मिक कक्षमा डायलासिस गराउनुपर्ने बिरामीको चाप उल्लेख्य रूपमा घटेको छ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. रसाइलीका अनुसार यस अघि इमर्जेन्सीमा डायलासिस गराउनेको सङ्ख्या २२ जना रहेकोमा मेसिन थपिएपछि त्यो घटेर अहिले ३ जनामा झरेको छ। मेसिन बनेपछि दैनिक थप ११ जना मिर्गौलाका बिरामीले नियमित रूपमा डायलासिस सेवा प्राप्त गर्न थालेका छन्।

हाल प्रतिष्ठानको डायलासिस सेवा दैनिक तीन सिफ्टमा सञ्चालन भइरहेको छ, जसबाट हरेक दिन ३३ जना बिरामीले सेवा पाइरहेका छन्। बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म चल्ने यो सेवाबाट हालसम्म ९१ जना मिर्गौलाका बिरामीहरू लाभान्वित भइरहेका छन्।

डायलासिस सेवालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन प्रतिष्ठानले नर्सिङ इन्चार्जसहित १८ जना नर्सिङ स्टाफलाई विशेष तालिमसमेत दिएको छ।

ranechhap