वि.सं.२०८३ साउन १२ मंगलवार

बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य : झक्कुप्रसाद सुवेदी

khanepani

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र साहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिको कडा आलोचना गरेका हुन् ।

नेता सुवेदीले प्रधानमन्त्री साहले नेपाल र भारतबिचको सीमा समस्याका विषयमा संसद्मा दिएको अभिव्यक्ति राष्ट्रियता विरोधी भएको दाबी गरे। उनले उक्त आपत्तिजनक अभिव्यक्ति संसद्को अभिलेखबाट तत्काल हटाउनुका साथै प्रधानमन्त्रीले आम नागरिकसमक्ष माफी माग्नुपर्ने अडान राखे। मुलुकको सर्वोच्च कार्यकारी पदमा बसेको व्यक्तिले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित संवेदनशील विषयमा यसरी गैरजिम्मेवार टिप्पणी गर्न नहुनेमा उनले जोड दिए। उनले बैठकका अध्यक्षमार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो भन्दै सार्वजनिक रूपमा पुष्टि गर्न चुनौती समेत दिए।

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको कडा विरोध गर्दै उनले संसद्मा भने, ‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठुलो दुर्भाग्य हो । नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ । अध्यक्ष महोदय मातृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन । हरेक नेपालीको रगतमा देशभक्तिपूर्ण भावना जीवन्त छ । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंले संसद्मा क्षमा माग्नुपर्छ । प्रधानमन्त्रीज्यूको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ । तपाईँले देशमाथि ठट्टा गर्नुभयो । हाम्रा पुर्खाले रगत बगाएर बनेको देश हो यो । राष्ट्र र राष्ट्रियतामाथि देशको प्रधानमन्त्रीले धावा बोल्न पाइँदैन ।’

नेता सुवेदीले नेपाल राष्ट्रको निर्माण हाम्रा वीर पुर्खाहरूको बलिदान र अथक सङ्घर्षबाट भएको स्मरण गराए। उनले राष्ट्र र राष्ट्रियताको जगलाई कमजोर बनाउने वा देशको सार्वभौमिकतामाथि कुनै पनि तह वा निकायबाट आघात पुग्ने खालका अभिव्यक्तिहरू नेपाली जनताका लागि किमार्थ स्वीकार्य नहुने चेतावनी दिए। प्रधानमन्त्री शाहले देशको भूगोल र इतिहासको संवेदनशीलतालाई बुझ्न नसकेको आरोप लगाउँदै उनले संसद्प्रति जबाफदेही बन्न सरकारलाई सचेत गराए।

ranechhap