वि.सं.२०८३ जेठ २८ बिहीवार

फेसबुक स्टाटसको भरमा छानबिन समिति नबनाऔँ, तथ्यमा आधारित छलफल गरौँ : सांसद झा

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संसदीय समितिहरूमा हुने छलफल फेसबुकका स्टाटस वा हचुवाका भरमा नभई तथ्य र तथ्याङ्कमा आधारित हुनुपर्नेमा बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद झाले कुनै पनि विषयमा सम्बन्धित निकायको जवाफ नै नसुनी हतारमा छानबिन समिति गठन गर्ने परिपाटीले बैठकको औचित्यमाथि नै प्रश्न उठाउने बताए।

बजेट निर्माण वा अन्य विषयमा प्रश्न उठ्नेबित्तिकै मन्त्रीको जवाफ नै नसुनी छानबिन समिति बनाउनुपर्ने मागप्रति उनले असहमति जनाए । “जसलाई प्रश्न उठाइएको छ, उसलाई जवाफ दिने मौका नै नदिई छानबिन समिति बनाइहाल्ने हो भने यो बैठक किन चाहियो? सिधै मागपत्र पठाइदिए भइहाल्यो नि,” झाले भने

उनले रसुवा नाकाबाट आएका ३० वटा गाडीको हकमा भन्सार दर बढेको देखिएको भन्दै जसले गर्दा राज्यलाई फाइदा र व्यवसायीलाई घाटा भएको बताए ।

त्यस्तै कोरोला नाकाबाट आएका सवारीको हकमा पनि भन्सार बढेको उनले दाबी गरे। उनले भने, “हामी फेसबुकको स्टाटसको भरमा मुद्दा उठाउँदै छौँ कि हामीसँग तथ्याङ्क छ? कसैले फेसबुकमा लेखिदिएको भरमा छानबिन समिति बनाउने होइन, सम्बन्धित निकायबाट आधिकारिक डाटा मागौँ र त्यसमा बहस गरौँ।”

सांसद झाले नेपालको भन्सार प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको औँल्याए। उनले भने, “आफ्नै एउटा पसलबाट अर्को पसलमा पैसा लाँदै गर्दा प्रहरीले समातेर भन्सारमा बुझायो। व्यवसायीले प्रमाण पेस गर्दा पनि सुनुवाइ भएन, अन्ततः बैंकको ब्याज तिर्न उसले खेत नै बेच्नुपर्‍यो।”

भन्सार परिसरमा वर्षौँदेखि थन्किएका सवारीसाधन र अन्य सामग्रीका कारण ती ठाउँहरू कबाडीखाना जस्तो बनेको भन्दै उहाँले यस्तो अभ्यास सुधार्न माग गरे ।

ranechhap