वि.सं.२०८३ जेठ २८ बिहीवार

रौतहटको सीमावर्ती क्षेत्रबाट करिब ९० लाख बराबरको अवैध फर्सीको बिउ बरामद

khanepani

गौर । रौतहटको बौधीमाई नगरपालिका–७ बाडा बंकुल टोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा करिब ९० लाख १६ हजार बराबरको अवैध फर्सीको बिउ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार साँझ प्राप्त गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा खोजतलास गरेको थियो । सो क्रममा त्रिपालले छोपेर नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लुकाइछिपाइ राखिएको फर्सीको बिउ फेला परेको हो ।

प्रहरीले ३२२ बोरा फर्सीको बिउ बरामद गरेको जनाएको छ । प्रति बोरा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम बिउ बरामद भएको हो । बरामद बिउको अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैबीच बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले प्रहरी टोलीमाथि अवरोध गर्दै ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

झडपका क्रममा ढुंगामुढा गर्ने ३ जना स्थानीय तथा ३ जना प्रहरी कर्मचारी गरी कुल ६ जना सामान्य घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap