बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको नाटक रचिएको खुलासा भएको छ । प्रहरी अनुसन्धानमा पसलका सञ्चालक र कामदार नै योजनाबद्ध रूपमा घटनामा संलग्न रहेको पाइएको छ ।
जेठ १७ गते पसल चोरी भएको भन्दै प्रहरीमा उजुरी गरिएको थियो । उजुरीमा पसलको सटरको ताला तोडेर भित्र रहेको सेफ खोली करिब १ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको दाबी गरिएको थियो ।
तर लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय लुम्बिनी, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त अनुसन्धानपछि उक्त चोरीको घटना योजनाबद्ध रूपमा रचिएको प्रमाणित भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा पसलका सञ्चालक दीपक विक र सोही पसलका कामदार नवीन विक मिलेर चोरीको नाटक गरेको खुलेको हो । प्रहरीले दीपक विकको घरबाट ५ तोला ४.१ लाल सुनका गरगहना, १४ किलो ३०० ग्राम चाँदीका सिक्का, दाना र ढिक्का बरामद गरेको छ ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ पुल्चोकका ४१ वर्षीय दीपक विक र तिलोत्तमा नगरपालिका–२ बनवाटिकाका ४७ वर्षीय नवीन विक रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































