वि.सं.२०८३ जेठ २५ सोमवार

ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने

khanepani

काठमाडौँ । नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको देखिएको छ । सोमबार विश्व ब्रेन ट्युमर दिवसको सन्दर्भ पारेर वीर अस्पतालस्थति राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले अघिल्लो वर्षको तुलनामा १५.४ प्रतिशले ब्रेन ट्युमरका बिरामी बढेको तथ्यांक सार्वजनिक गरेको छ ।

केन्द्रले देशभरका २० भन्दा बढी न्युरो केन्द्रहरूको तथ्याङ्क समेटेर गरेको अध्ययन अनुसार २०८२ सालमा करिब ३ हजार जना बिरामीको ब्रेन ट्युमरको उपचार भएको छ । यो अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो । अध्ययन अनुसार ब्रेन ट्युमरले पुरुष र महिला दुवैलाई समान रूपले प्रभाव पारेको पाइएको छ । कुल बिरामीमध्ये ५०.०७ प्रतिशत पुरुष र ४९.९३ प्रतिशत महिला छन् भने बिरामीहरूको औसत उमेर ४६ वर्ष देखिएको छ ।

तथ्याङ्कले सबै भन्दा बढी ३० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरू यसबाट प्रभावित भएको देखाएको छ । भौगोलिक रूपमा बागमती प्रदेशबाट सबैभन्दा बढी ३६.४ प्रतिशत बिरामी उपचारका लागि आएको देखिएपनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अझै पनि उपचार सेवाको पहुँच अत्यन्त कम रहेको र त्यहाँ सेवाको समान वितरणमा ध्यान दिनुपर्ने आवश्यकता केन्द्रले औँल्याएको छ ।

अध्ययन अर्को गम्भीर पक्ष पनि औंल्याएको छ । नेपालमा उच्च-ग्रेड ग्लियोमाका बिरामी ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेका छन् । यसले बिरामीहरू रोग निकै जटिल अवस्थामा पुगेपछि मात्र उपचारका लागि अस्पताल आउने गरेको सङ्केत गर्छ ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ स्नायु तथा मेरुदण्ड रोग विशेषज्ञ प्रा.डा. राजीव झाले प्रारम्भिक अवस्थामा नै रोगको पहिचान र उपचार हुन सके धेरै बिरामीको ज्यान बचाउन सकिने बताएका छन् । ‘नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बर्सेनि बढिरहेको छ । प्रारम्भिक अवस्थामा नै निदान र उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिन्छ । यही सन्देश विश्व ब्रेन ट्युमर दिवसको मूल मर्म हो,’ उनले भने ।

मेनिन्जियोमाको हिस्सा ७.४ प्रतिशतबाट बढेर २७.१ प्रतिशत पुगेको छ भने ग्रेड ३ मेनिन्जियोमामा १५ प्रतिशतले कमी आएको छ, जसलाई सकारात्मक सङ्केत मानिएको छ ।

विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालले जुन महिनाभर (असार १६ गतेसम्म) ब्रेन ट्युमरको शल्यक्रिया नि:शुल्क गर्ने भएको छ । बिरामीहरूलाई प्रत्यक्ष राहत प्रदान गर्न विगत दुई वर्षदेखिको निःशुल्क शल्यक्रिया सेवालाई यस वर्ष पनि निरन्तरता दिने अस्पतालले घोषणा गरेको छ ।

दिवसकै अवसरमा वीर अस्पतालले सोमबार बिहान काठमाडौँमा जनचेतना जगाउने उद्देश्यले प्रभात र्‍यालीको आयोजना गरेको छ ।

नेपालमा न्युरोअन्कोलोजी सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै डा. चiरधाम बुढाथोकीलाई ‘च्याम्पियन अफ न्युरोअन्कोलोजी केयर-२०२६’ बाट सम्मान समेत गरिएको छ ।

ranechhap