वि.सं.२०८३ जेठ २५ सोमवार

बागमती प्रदेशका ट्रायल सेन्टरमा अनुगमन, केन्द्र सरकारले पनि देखायो चासो

khanepani

काठमाडौँ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आफ्नो मातहतमा रहेका ट्रायल सेन्टरहरुमा अनुगमन सुरु गरेको छ ।

बागमती प्रदेश सरकारबाट सञ्चालनको अनुमति पाएका ट्रायल सेन्टरहरूले मापदण्ड पूरा नगरेको भन्दै केन्द्र सरकारमा गुनासो पुगेपछि, केन्द्रले उक्त गुनासो प्रदेश सरकारलाई पठाएसँगै यो अनुगमन सुरु गरिएको हो ।

बागमती प्रदेश सरकार अन्तर्गत काठमाडौंमा ४ वटा ट्रायल सेन्टरहरू सञ्चालनमा रहेका छन् । भने हेटौँडा, चितवन र काभ्रेमा पनि ट्रायल सेन्टरहरू सञ्चालनमा छन् ।

मापदण्डविपरीत सञ्चालन भइरहेका ड्राइभिङ सेन्टरहरूलाई कानुनी दायरामा ल्याउन र तिनीहरुको यथार्थ वस्तुस्थिति पत्ता लगाउन बागमती प्रदेशको यातायात मन्त्रालयका प्राविधिक प्रमुखको नेतृत्वमा एक विशेष अनुगमन टोली गठन गरी काम सुरु गरिएको छ ।

बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले ड्राइभिङ सेन्टरहरूले तोकिएको मापदण्ड पालना गरे÷नगरेको विषयमा स्थलगत नापजाँच गरी प्रतिवेदन पेस गर्न अनुगमन टोलीलाई स्पष्ट निर्देशन दिएको बताए ।

मन्त्री थापाले भने, ‘नियम र कानुनको पालना सबैका लागि अनिवार्य हुन्छ । अहिले ट्रायल सेन्टरको फिल्डमा जे यथार्थ छ, त्यही प्रतिवेदनमा समेटिएर आउने छ ।’

विशेष गरी बनेपा लगायतका विभिन्न क्षेत्रमा सञ्चालित कतिपय ट्रायल सेन्टरहरु मापदण्ड विपरीत रहेको र तिनलाई खारेज नै गर्नुपर्ने मागसहितका उजुरीहरु केन्द्र सरकारमा परेका छन् । सोही अनुसार यस विषयमा केन्द्र सरकारको पनि चासो रहेको छ । केन्द्र सरकारको चासोपछि प्रदेशको यातायात मन्त्रालयले प्राविधिक टोली परिचालन गरी सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु गरेको हो ।

अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका सेन्टरहरू फेला परेमा उनीहरुलाई सुधारका लागि मन्त्रालयले निश्चित समयावधि दिने छ ।

तर, सरकारले दिएको समयसीमा भित्र पनि मापदण्ड पूरा गर्न नसक्ने वा अटेर गर्ने सेन्टरहरूको हकमा भने कानुन बमोजिम खारेजी लगायतका कदम चाल्ने गरी मन्त्रालय अघि बढेको छ ।

ranechhap