सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि संघीय सरकारका कारण ढिलाइ भइरहेको बताएका छन्।
शुक्रबार वीरेन्द्रनगरमा ‘अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता’को उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफू पूर्ण तयारीमा रहेको बताएका हुन्।
उनले भने, “केन्द्र सरकारका कारण समयमै १० औँ खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन।”
उनले संघीय सरकारले कर्णालीलाई बजेटमा जहिल्यै उपेक्षा गर्ने गरेको बताउँदै वर्तमान सरकारले पनि त्यसैलाई निरन्तरता दिएको आरोप लगाए। “अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउँछ, तर अङ्क आइपुग्दा टिठलाग्दो हुन्छ,” उनले भने, “अहिलेको संघीय सरकारले पनि त्यसैलाई निरन्तरता दियो।”
मुख्यमन्त्री कँडेलले स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन प्रदेश सरकार तत्पर रहेको समेत उल्लेख गरे। उनले क्रिकेट खेलप्रति आकर्षण बढिरहेको बताउँदै क्रिकेटको स्थायी संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताए। उनले थपे, “अहिले खेल भइरहेका मैदानहरू अस्थायी हुन्। क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक क्रिकेट मैदान बनाउने छौँ।”
सीमित स्रोत र साधनका बाबजुद प्रदेश सरकारले कर्णालीलाई खेल क्षेत्रको ‘हब’ बनाउन खेल पूर्वाधारहरू निर्माण गरिरहेको उनले जानकारी दिए।
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीमा महिला क्रिकेटको विकासका लागि छनोट प्रतियोगिता आयोजना गरिएको बताए। “पूर्वाधार र खेलाडी अभाव झेलिरहेको कर्णालीबाट महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुको खास अर्थ छ,” उनले भने, “क्यानको उद्देश्य कर्णालीबाट क्रिकेटको विकास गर्नु हो।”
क्यानका कोषाध्यक्ष एवं कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर खड्काले कर्णालीमा खेलकुद पर्यटनको उच्च सम्भावना रहेको बताए। उनले क्यानले कर्णालीमा क्रिकेटको विकासका लागि महत्त्वपूर्ण कामहरू गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
प्रदेश सरकारले क्रिकेटको पूर्वाधार निर्माण गरिदिए त्यसको संरक्षण, रेखदेख र थप समृद्ध बनाउन क्यानले सहयोग गर्ने उनको भनाइ थियो। कर्णालीमा आयोजना भइरहेको यस प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट गरिने र सोही टिमले सन् २०२७ मा आयोजना हुने विश्वकपमा सहभागिता जनाउने जानकारी पनि उनले दिए।
विजेतालाई ५ लाख पुरस्कार
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) लाई ४० हजार, उत्कृष्ट ब्याटरलाई २५ हजार, उत्कृष्ट बलरलाई २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई जनही ३ हजार रुपैयाँ प्रदान गरिनेछ।






































