काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका-२ घर भएका २६ वर्षीय निमा तामाङ, काठमाडौं महानगरपालिका-३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका २४ वर्षीय बिबेक साह, काठमाडौं चन्द्रागिरी नगरपालिका-१ बस्ने सप्तरी राजविराज नगरपालिका-८ घर भएका ५२ वर्षीय उज्वल कुमार थापा र काठमाडौं महानगरपालिका-९ बस्ने तेह्रथुम लालिगुराँस नगरपालिका-५ घर भएका ३५ वर्षीय खेम बहादुर बस्नेत रहेका छन् ।
पक्राउ मध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रूपैयाँ, बिबेकले जर्जिया, माल्टा लगायतका देशहरू पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३५ हजार रूपैयाँ, उज्वलले हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ६२ हजार रूपैयाँ र खेम बहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौं महानगरपालिका-६ बाट, बिबेकलाई काठमाडौं महानगरपालिका-१० बाट र उज्वललाई काठमाडौं महानगरपालिका-३१ बाट मंगलबार तथा खेम बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये निमा र बिबेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्जवल र खेम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।








































