वि.सं.२०८३ असार १ सोमवार

टिकटकर तुलसालाई हत्कडीसहित ललितपुर अदालत लगियो, थुनामा राख्ने वा तारेखमा छोड्नेबारे आजै आदेश आउने

khanepani

काठमाडौं । टिकटकर तुलसा अधिकारी उर्फ तुल्सीलाई प्रहरीले हत्कडीसहित ललितपुर अदालतमा लगेकोे छ । आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर खेपिरहेकी तुलसा कलेक्सनकी सञ्चालक टिकटकर तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुर पुर्‍याइएको हो।

न्यायाधीशले उनलाई थुनामै राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने भन्नेबारे अदालतले आजै निर्णय लिनेछ।

अधिकारीको बयानपछि जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा हिजोबाट थुनछेक बहस सुरू भएको हो । हिजो बहस नसकिएकाले तुलसालाई हिरासतमै पठाएर आज पनि सोही इजलासमा सुनवाइ गरिँदैछ ।

आज सरकारी वकिलको तर्फबाट बहस हुने छ भने त्यसपछि प्रतिवादी अधिकारीका कानून व्यवसायीले बहस गर्ने छन् । आज बहस सकियो भने थुनछेक आदेश आउने छ ।

ललितपुरका एक अटो व्यवसायी कुमार चिमारियाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरूद्ध गत चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

तुलसाको खाताबाट कारोबार भएको कूल २१ करोडको सम्पत्तिको स्रोत खुलेको छैन । २०८२ भदौदेखि फरार भएकी तुलसा चीन हुँदै थाइल्यान्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् । उनलाई शनिबार बेलुका काठमाडौं ल्याइएको थियो ।

प्रहरी वृत्त सातदोबाटोको थुनुवा पोसाक र हत्कडीमा प्रहरी भ्यानबाट ओरालिएकी उनले मास्क लगाएकी थिइन्। उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।

ranechhap