काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरको एक होटलमा भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
दिल्ली प्रहरीले घटनाको पुष्टि गर्दै मालवीय नगरस्थित भोजनालयसहितको उक्त होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या २१ पुगेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा मृतकमध्ये अधिकांश विदेशी नागरिक रहेको खुलेको छ । उनीहरू उपचारका लागि साकेतस्थित म्याक्स अस्पताल आएका हुनसक्ने अनुमान गरिएको छ ।
घटनापछि होटल सञ्चालनमा गम्भीर अनियमितता रहेको तथ्य पनि सार्वजनिक भएको छ। दिल्ली सरकारको ‘बेड एन्ड ब्रेकफास्ट’ योजना अन्तर्गत होटललाई केवल ६ वटा कोठा सञ्चालनको अनुमति दिइएको थियो । तर होटलमा अवैध रूपमा २५ वटा कोठा निर्माण गरिएको पाइएको छ, जसमध्ये केही भुइँतलामुनि पनि रहेका थिए। यसले सुरक्षा मापदण्डको पालना नभएको विषयमा गम्भीर प्रश्न उठाएको छ ।
साकेतस्थित म्याक्स अस्पताल नजिकको क्षेत्र भएकाले त्यहाँ उपचारका लागि आउने विदेशी नागरिकहरू बस्न धेरै होटल तथा भोजनालय सञ्चालनमा छन् । राष्ट्रमण्डल खेलकुदका बेला उक्त योजनाअन्तर्गत यस क्षेत्रमा १५ वटा होटललाई अनुमति दिइएको थियो ।
आगलागी भएको होटलमा पनि उपचारका लागि आएका धेरै विदेशी नागरिक बसिरहेको बताइएको छ । त्यसैले मृतकमध्ये अधिकांश विदेशी नागरिक हुन सक्ने आशंका गरिएको छ ।
आगलागी नियन्त्रणका लागि सुरुमा सात वटा दमकल परिचालन गरिएको र पछि थप टोली खटाइएको थियो । उद्धारकर्मीहरूले ३७ जनालाई सकुशल बाहिर निकालेका थिए भने भवनको सम्पूर्ण भागमा खोजी कार्य सञ्चालन गरिएको थियो ।
घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ । साथै, लापरवाही वा नियम उल्लंघनमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाइएको छ ।









































