काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिको म्याद ५ दिन थप गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले समितिलाई प्रतिवेदन बुझाउन थप ५ दिनको समय थप गरेको हो ।
प्रतिवेदन लेखनको काम पूरा नभएको भन्दै समितिले जेठ १८ मा थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको थियो ।
मन्त्रिपरिषद्ले उपलब्ध गराएको थप समयमा प्रतिवेदन बुझाउने समितिका अध्यक्ष पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीले बताए । उनले भने, ‘प्रतिवेदन लेखन कार्य हुँदै छ, हामी थपिएको समयमा प्रतिवेदन बुझाउँछौँ ।’
सरकारले वैशाख २८ मा भण्डारीको नेतृत्वमा गठन गरेको छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन् ।
छानबिन पूरा भैसकेको समितिका सदस्य अच्युतमणि नेउपानेले जानकारी दिए । उनले भने, ‘प्रतिवेदन लेखन कार्य मात्रै बाकी छ ।’
समितिले सुधन गुरुङसँग बयान लिइसकेको छ । व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो । त्यसबारे समितिले प्रमाण संकलन गरेर छानबिन गरेको छ । रकमको श्रोतबारे प्रश्न उठेपछि गुरुङले राजीनामा दिँदै सापटी लिएर सेयर किनेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ ।









































