वि.सं.२०८२ वैशाख ९ मंगलवार

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्‍यु

काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ३:५० बजे दिउँसोदेखि मंगलबार बिहान ६:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ३ जना दाङ र २ जना बर्दियाका छन् ।

नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बैजनाथ गाउँपालिका ४ बाँकेका ३८ वर्षीया महिलाको सोमबार दिउँसो ३:५० बजे र कोहलपुर नगरपालिकाका ४७ वर्षीय पुरुषको सोमबार साँझ ६ बजे मृत्यु भएको छ ।

यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका १८ की ८५ वर्षीया महिलाको सोमबार साँझ ६:२० बजे, कोहलपुर नगरपालिका १० बाँकेकै ७१ वर्षीय पुरूषको मंगलबार विहान ५:४० बजे र खजुरा गाउँपालिका ४ बाँकेकी ३२ वर्षीया महिलाको मंगलबार विहान ६:३० बजे मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका ८ दाङका ५६ वर्षीय पुरूषको सोमबार दिउँसो ४:३० बजे र तुलसीपुर उपमहानगरपालिका १२ दाङकी ४० वर्षीया महिलाको सोमबार राति ९:१० बजे मृत्‍यु भएको छ भने घोराही उपमहानगरपालिका १८ का ५१ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार विहान २: १५ बजे मृत्‍यु भएको छ ।

यस्तै बाँसगढी नगरपालिका ३ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति १० बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका ६ बर्दियाकी ६० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार राति ११:३० बजे मृत्‍यु भएको छ ।

यो सँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २७९ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २५१ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।