वि.सं.२०८३ जेठ १८ सोमवार

अमेरिका युद्धविराम सम्झौताको पालना गर्न असफल भएको इरानको आरोप

khanepani

काठमाडौँ । इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाकर गालिबाफले अमेरिका युद्धविराम सम्झौताको पालना गर्न असफल भएको आरोप लगाएका छन् ।

उनले अमेरिका इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्नुका साथै आफ्नो सहयोगी इजरायललाई लेबनानमा सैन्य आक्रमण बढाउनबाट पनि रोक्न नसकेको आरोप लगाएका हुन् ।

गालिबाफले इरानी बन्दरगाहमाथि जारी समुद्री नाकाबन्दी अमेरिका युद्धविरामका सर्तहरूको पालना नगरेको स्पष्ट प्रमाण भएको बताएका छन् । उनले हरेक निर्णयको मूल्य हुने र त्यसको हिसाब एक दिन चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।

गालिबाफले इरानी बन्दरगाहको नाकाबन्दी कायम राख्नु र लेबनानमा इजरायलको सैन्य कारबाही रोक्न नसक्नुले अमेरिका युद्धविरामप्रति प्रतिबद्ध नरहेको देखाएको दाबी गरेका छन् । उनले समय आएपछि सबै कुरा स्पष्ट हुने पनि बताएका छन् ।

यता इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज जलडमरूमध्यमाथिको सार्वभौम अधिकार केवल इरान र ओमान सँग रहेको बताएका छन् । उनले उक्त महत्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन तथा जलयात्रा व्यवस्थापनका लागि इरानले नयाँ प्रणाली लागू गरेको जानकारी दिएका छन् ।

इरानी सरकारी प्रसारण संस्थाका अनुसार गरीबाबादीले होर्मुज क्षेत्रमा समुद्री यातायात र जलयात्रा नियन्त्रणसम्बन्धी नयाँ व्यवस्था ओमानसँगको सहकार्यमा सञ्चालन भइरहेको बताएका छन् । साथै उनले ओमानलाई अमेरिकाको दबाब वा धम्कीसमक्ष नझुक्न आग्रह गरिएको पनि उल्लेख गरेका छन्।

ranechhap