काठमाडौँ । बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियामा भिसाको समयावधि समाप्त भएर पनि गैरकानुनी रूपमा बसिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन अनुरोध गरेको छ।
विभिन्न माध्यमबाट कम्बोडिया पुगी भिसा अवधि नाघेर बसोबास गरिरहेका नेपालीहरूले नेपाल फर्कँदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाहा गराउने उद्देश्यले राजदूतावासले गत १ मे २०२६ देखि विवरण सङ्कलन कार्य सञ्चालन गरेको थियो।
राजदूतावासका अनुसार हालसम्म सङ्कलित विवरणका आधारमा राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र (वान वे ट्राभल डकुमेन्ट) तयार गरी कम्बोडिया पठाइसकिएको छ। राजदूतावासको विशेष अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौँ पटक गरेर ६०२ जना नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरिदिएको छ।
तोकिएको एक हप्ताको अवधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकहरूलाई कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानुनी व्यवस्था अनुसार पक्राउ गरी कडा कारबाही गर्ने, जरिवाना गर्ने र कैद सजायसमेत दिने व्यवस्था गरेको छ। तसर्थ, सम्बन्धित सबै नेपाली नागरिकहरूले यस सूचनालाई गम्भीरतापूर्वक लिई यथाशीघ्र नेपाल फर्किन राजदूतावासले आग्रह गरेको छ।
कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूले आफ्नो हवाई टिकटको व्यवस्था गरिसकेपछि सोको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्ने भएकाले राजदूतावासले तोकेको ईमेल तथा सम्पर्क नम्बरहरूमा टिकटको विवरण पठाइदिन अनुरोध गरिएको छ।
कम्बोडियाबाट नेपाल जाने सिधा उडान नभएकाले हवाई टिकटको व्यवस्था गर्दा आफ्नो टिकट कनेक्टिङ फ्लाइटको हो वा होइन भन्ने कुरा यकिन गरेर मात्र खरिद गर्न समेत दूतावासले सचेत गराएको छ।
यसैगरी, अध्यागमन जरिवाना तथा शुल्क मिनाहा भएका व्यक्तिहरूलाई कसैले शुल्क वा जरिवानाका नाममा कुनै पनि प्रकारको रकम माग गरेमा त्यस्तो कार्य गर्नेमाथि ठगीको कारबाही हुने ब्यहोरा समेत राजदूतावासले स्पष्ट पारेको छ।

























