रुपन्देही । बाँकेको जिल्ला अदालतको गेटमै पीडित परिवार र प्रहरीबीच झडप भएको छ । बुधबार भएको यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
आफ्नो परिवारका सदस्यको हत्या भएपछि प्रहरीमार्फत अदालती प्रक्रियामा गएका पीडित परिवारले केही दोषीलाई धरौटीमा छाडिदिएको भन्दै अदालत परिसरमै आन्दोलनमा पुगेपछि प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले त्यहाँको गेट नै तोडफोड प्रयास गरे भने त्यसको सुरक्षार्थ रहेका प्रहरीले बल प्रयोग गरेको भन्दै उनीहरू प्रहरीमाथि जाइलागेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
गत वैशाख २१ गते साथीहरूबाट हत्या भएका स्थानीय विशाल चन्दको परिवार जिल्ला अदालतबाट न्याय नपाएको भन्दै गेटमा धर्नामा बसेका थिए । प्रहरीले उनीहरूलाई हटाउन बल प्रयोग गरेपछि झडप भएको र पीडित परिवारले अदालतको गेटसमेत भत्काउन थालेपछि बल प्रयोग गरेको दाबी गरेको छ ।
पीडित पक्षले जघन्य अपराधमा रहेका व्यक्तिलाई धरौटीमा छाडेको भन्दै अदालत र सुरक्षाकर्मीसँग आक्रोशित भएर प्रतिवादमा उत्रेको भिडियोमा देख्न सकिन्छ ।
‘अदालतको गेटमा धर्नामा बसेकाहरूलाई हटाउन बल प्रयोगपछि सुरक्षाकर्मी झगडा भएको देखिन्छ, त्यसपछि पीडित परिवार निकै आक्रोशित भएर अवस्था तनावग्रस्त भएको हो । सुरक्षाकर्मीलाई यो विवाद मिलाउन निकै समस्या भएको थियो ।’ त्यहाँस्थित पत्रकार शरण कर्माचार्यले भने ।
यो मुद्दामा जिल्ला अदालत बाँकेले दुई जनालाई धरौटीमा छाडेको छ भने ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएपछि मृतकका आफन्त न्याय किनबेच हुने देश भन्दै आन्दोलनमा उत्रेपछि यस्तो अवस्था आएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी जीवराज थापाले अदालतको आदेशप्रति पीडित परिवारले असन्तुष्टि जनाएर गेटमै प्रदर्शन गरेको र त्यसलाई खुलाउने विषयमा झडप भएको जनाएका छन् ।
‘पीडित पक्ष अदालतको आदेशप्रति असन्तुष्टि जनाएर गेटमै आन्दोलनसहितको धर्नामा हुनुहुन्थ्यो, त्यो घटनामा ६ जना पक्राउ थिए, त्यसमध्ये ४ जना पुर्पक्षमा गए, २ जना धरौटीमा छुटेका हुन् धरौटी पाएका एक नाबालक हुन्, उहाँहरुले सबैलाई थुनामा पठाउने आदेश नआएको भनेर आन्दोलनमा हुनुहुन्थ्यो, अदालत क्षेत्र संवेदनशील भएकाले हामीलाई खुलाउनुपर्ने बाध्यता थियो, त्यो क्रममा झडप नै भएको हो, ३ जना नियन्त्रणमा लिएर राती छाडिएको हो’ उनले भने ।
युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी मुद्दा अदालत पठाएको थियो । प्रहरीका अनुसार वैशाख २१ गते साँझ नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुर निवासी २१ वर्षीय प्रितम अधिकारीको व्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका साथीहरू राति बस्ने क्रममा विवाद हुँदा घटना भएको थियो ।
कार्यक्रमपछि बस्ने ठाउँ अभाव भएपछि उनीहरू आफन्त पर्ने दीपेन्द्र रोकायको घरमा एउटै कोठामा बसेर रमाइलो गरिरहेका थिए । त्यही क्रममा सामान्य विषयलाई लिएर कैलाली लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दीपेन्द्रराज गिरी र विशाल चन्द्र ठकुरीबीच विवाद भएको प्रहरीले जनाएको छ । विवादपछि दीपेन्द्र बाहिर निस्केर आफ्ना साथीहरूलाई फोनमार्फत बोलाएका थिए ।
प्रहरीका अनुसार त्यसपछि दीपेन्द्रसहित उनका साथीहरू मोटरसाइकलमा आएर विशाल चन्द्र ठकुरी लगायतमाथि बियरका बोतल, चक्कु तथा धारिलो हतियार प्रहार गरेका थिए ।
आक्रमणपछि विशाल चन्द्र ठकुरी ज्यान जोगाउन भागेका थिए । तर आरोपितहरूले करिब ५०० मिटरसम्म लखेट्दै धारिलो हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका विशाल चन्द्र ठकुरीको उपचारका क्रममा सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा मृत्यु भएको थियो । अर्का घाइते जुम्ला चन्दननाथ नगरपालिका–४ निवासी २० वर्षीय योगेन्द्र कामी उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कैलाली लम्कीचुहा नगरपालिका–१ का दीपेन्द्रराज गिरी, बाँके नेपालगञ्जका विवस कुँवर, सुशील खत्री, खगेन्द्र देवकोटा, कालिकोट पचालझरना गाउँपालिका–६ का सन्तोष सन्ज्याल र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का रुपेश थापालाई पक्रा गरेर अनुसन्धान अघि बढाएको थियो ।
घटनापछि फरार रहेका चार जनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनी क्षेत्रबाट पक्राउ गरिएको थियो भने बाँकी दुई जनालाई नेपालगञ्जबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो ।








































