काठमाडौं । रास्वपाका सांसद सोम शर्माले मानवअधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन्। आयोगले शर्मासहित रास्वपाका दर्जनबढी सांसदहरूमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेपछि आफूहरू तयार रहेको बताएका छन्।
उनले भनेका छन्, ‘दक्षिण अफ्रिकामा नेल्सन मण्डेलालाई पनि कुनै समय राज्यविरुद्धको अपराधी भनिएको थियो। इतिहासले पछि त्यही मान्छेलाई अन्यायविरुद्ध लडेको विश्वकै प्रतीक बनायो। आन्दोलन जहिल्यै फूलको माला बोकेर सुरु हुँदैन, आन्दोलन जन्मिन्छ राज्यको निरङ्कुशता, अन्याय र नागरिकको घाँटीसम्म पुगेको पीडाबाट। त्यसैले आन्दोलनलाई केवल अपराधको आँखाले हेर्ने दृष्टि इतिहासले धेरै पटक गलत सावित गरिसकेको छ।’
उनले आफ्नो खुट्टामा अझै गोलीको रातो दाग बाँकी रहेको बताएका छन्।
‘मेरै काखमा सहिद सुलभ राज श्रेष्ठले अन्तिम सास फेर्नुभएको थियो। आज त्यही घाइतेलाई अनुसन्धान र कारबाहीको सिफारिस गरिएछ’ उनले भनेका छन्, ‘हतारो पनि कति थियो होला ? मेरो नामको ‘स’ र ‘श’ छुट्टाउनसमेत भ्याइएन। त्यसैले प्रश्न उठ्नु स्वाभाविक छ कि यो गहिरो अनुसन्धानपछि बनेको प्रतिवेदन हो कि हतारमा नाम डाम्न तयार गरिएको सूची ?’
बिना कसुर आन्दोलनमा सहभागी भएकै आधारमा कैयौँ नागरिक आज पनि जेलमा रहेको उल्लेख गरेका छन्।
सांसद शर्माको प्रश्न छ, ‘के उनीहरूको अधिकार मानव अधिकारको विषय होइन ? कि मानव अधिकार केवल प्रतिवेदनमा लेखिने शब्द हो, गोली खाने र जेल बस्ने नागरिकको पीडा होइन ? अनुसन्धान होस्, सत्य बाहिर आओस्, हामी तयार छौँ। तर यदि जेनजी आन्दोलनको सत्य खोज्न बनेको आयोगमाथि नै पछि प्रश्न उठ्न सक्छ भने, यो प्रतिवेदनमाथि प्रश्न उठाउनु पनि लोकतन्त्रकै अधिकार हो।’
उनले इतिहासले अन्तिम फैसला कागजले नभई सत्यले गर्ने बताएका छन्।








































