वि.सं.२०८३ जेठ १३ बुधवार

पोखरा बहुमुखी क्याम्पसमा राष्ट्रिय अनुसन्धान सम्मेलन हुँदै, ५४ वटा कार्यपत्र प्रस्तुत गरिने

khanepani

पाेखरा । पोखरा बहुमुखी क्याम्पसले जेठ १५ र १६ गते दुई दिने राष्ट्रिय अनुसन्धान सम्मेलन हुने भएको छ । क्याम्पसले व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदीयमान प्रवृत्तिहरू (पीएमसीएनसी–२०२६) सम्बन्धी राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

२०४४ सालमा टुँडिखेलबाट शैक्षिक यात्रा सुरु गरेको यस सामूहिक क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र समेत प्राप्त गरिसकेको सहप्राध्यापक भानु पराजुलीले बताए ।

क्याम्पसलाई केवल शिक्षण कार्यमा मात्र सीमित नराखी अनुसन्धान र ज्ञान उत्पादनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको क्याम्पस प्रशासनले जनाएको छ । विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोग तथा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, थाइल्याण्डको सिनावश्रा विश्वविद्यालय र मुक्त विश्वविद्यालय नेपालको सहकार्यमा यो कार्यक्रम हुन लागेको सहप्राध्यापक भीमप्रसाद न्याैपानेले जानकारी दिए ।

सामुदायिक क्याम्पसको रूपमा शैक्षिक गुणस्तर र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यस सम्मेलनमा नेपालसहित तीनवटा देशका ७ वटा विश्वविद्यालय र २१ वटा क्याम्पसका ९७ जना अनुसन्धानकर्ताहरूको सहभागिता सम्मेलन संयाेजक न्याैपानेकाे भनाइ छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विधाका कुल ५४ वटा अनुसन्धान पत्रहरू प्रस्तुत गरिने कार्यक्रम रहेको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शिक्षाविद्, अनुसन्धानकर्ता, नीति निर्माता, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय क्षेत्रका विज्ञ र सामाजिक अगुवाहरू बीच व्यवस्थापन तथा सामाजिक विज्ञानका समसामयिक विषयमा सरोकारवालाहरू बीच बहस र अन्तरक्रिया हुने बताइएको छ ।

सम्मेलनको उद्घाटन तथा विशेष सत्रमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारी, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. महानन्द चालिसे र थाइल्याण्डको सिनावश्रा विश्वविद्यालयका सह-प्राध्यापक डा. थानकोर्न धानाथानचुचोटको विशेष उपस्थिति रहनेछ ।

यसैगरी सम्मेलनको मुख्य आकर्षणको रूपमा रहने प्यानल छलफल (प्यानल डिस्कसन) सेसनमा प्रा.डा. लेखनाथ भट्टराई, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे र ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बुढाथोकी बीच उच्च शिक्षा, आर्थिक विकास, बैंकिङ, उद्योग तथा सामाजिक रूपान्तरणका विषयमा सघन बौद्धिक बहस हुने क्याम्पस प्रमुख सहप्राध्यापक शिशुकला पराजुलीले जानकारी दिए ।

क्याम्पस प्रमुख सह-प्राध्यापक शिशुकला र सम्मेलनका संयोजक सह-प्राध्यापक भीमप्रसादका अनुसार सम्मेलनमा व्यवस्थापन, डिजिटल बैंकिङ, दिगो वित्त, मानव संसाधन व्यवस्थापन, स्थानीय शासन, सामाजिक तथा सांस्कृतिक रूपान्तरण, सार्वजनिक नीति र वातावरणीय न्याय लगायतका मुख्य विषय क्षेत्रहरू समावेश गरिएका छन् । यस सम्मेलनले अनुसन्धान संस्कृतिको विकास गर्दै नीति निर्माणमा शैक्षिक योगदान पुर्‍याउन र सामुदायिक क्याम्पसको शैक्षिक पहिचान सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास क्याम्पसले लिएको छ ।

सम्मेलनमा संस्थागत सहचागिताका लागि २ हजार, शिक्षकलाई १ हजार ५०० र विद्यार्थीले १ हजार रूपैयाँ तिरेर दर्ता गर्नुपर्ने न्याैपानेले बताए ।

ranechhap